काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा देशका धेरै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले उल्लेख्य मत पाए पनि केही निर्वाचन क्षेत्रमा भने अपेक्षित समर्थन जुटाउन सकेनन्। परिणामस्वरूप रास्वपाका १० उम्मेदवारको जमानत जफत भएको छ।
जुम्लाबाट उम्मेदवार बनेकी विनीता कठायतले ३९ हजार १७३ सदर मतमध्ये ४२१ मत मात्र प्राप्त गरिन्। जमानत जोगाउन आवश्यक ३ हजार ९१८ मत नपुगेपछि उनको जमानत जफत भयो। उनले सामाजिक सञ्जालमार्फत कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रले परिवर्तनको लहरलाई पूर्ण रूपमा आत्मसात् गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
रुकुम पूर्वमा रास्वपा उम्मेदवार लखनकुमार थापाले ८१९ मत पाउँदा जमानत जोगाउन आवश्यक १ हजार ८२५ मत नपुगेको थियो। डोल्पामा देवसिंह ऐडीले १८१, मुगुमा भुवन टमटाले ५३० र कालीकोटमा प्रकाश न्यौपानेले ३ हजार १०१ मत पाए पनि जमानत जोगाउन सकेनन्।
त्यस्तै जाजरकोटमा राघव कार्की (२,४७१ मत), रुकुम पश्चिममा मानवबहादुर शाही (४,०७६ मत), हुम्लामा टासी ल्हान्जोम (१,०६४ मत), अछाम–१ मा ओमप्रकाश रावल (१,७३९ मत), ताप्लेजुङमा वीरेन्द्र श्रेष्ठ (४,१५५ मत), पाँचथरमा महेन्द्रविक्रम थाम्सुहाङ (४,१९७ मत) र सोलुखुम्बुमा ऋषिधन थुलुङ राई (३,६४२ मत) ले पनि आवश्यक १० प्रतिशत मत नपुग्दा जमानत गुमाएका छन्।
प्रतिनिधिसभा निर्वाचनमा सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ। यसअघि २०७९ को निर्वाचनमा पनि रास्वपाका ८२ उम्मेदवारको जमानत जफत भएको थियो।























