काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन रहेको सहकारी ठगीसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा हटाएर केवल सहकारी ठगीमा मात्र मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएकी थिइन् ।
यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका हुन् ।
सुनुवाइ सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा हुनेछ ।
यदि अदालतले रिट खारेज गरेमा जिल्ला अदालतले लामिछानेमाथिको अभियोग संशोधन गर्न अनुमति दिनेछ ।
अस्वीकृत भएमा पुरानै अभियोग कायम रहनेछ ।
मुलुकी फौजदारी कार्यविधि संहिता, दफा ३६ अनुसार अदालतमा दायर मुद्दामा थप प्रमाण फेला परे मात्र अभियोग संशोधन गर्न सकिन्छ ।
तर, लामिछानेको मुद्दामा के नयाँ प्रमाण फेला परेको हो भन्ने स्पष्ट छैन, जसबारे अदालतले व्याख्या गर्नु पर्नेछ ।























