काठमाडौं– समानुपातिकतर्फको मतगणनामा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भन्दा अघि देखिएको छ ।
सोमबार बिहान १०:२४ बजेसम्म ८२ लाख ८३ हजार ९१७ मत गणना हुँदा श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार ८३३ मत (३.४९ प्रतिशत) प्राप्त गरेको छ ।
राप्रपाले २ लाख ७४ हजार ८१४ मत (३.१७ प्रतिशत) पाएको छ ।
यसअनुसार श्रम संस्कृतिले राप्रपाभन्दा १५ हजार १९ मत बढी ल्याएको छ ।
हालसम्म दुवै दलले ३ प्रतिशतको सीमा पार गरेका छन् ।
तर, अन्तिम परिणामसम्म यो प्रतिशत कायम नरहेमा राष्ट्रिय दलको मान्यता पाउन सक्ने छैनन् ।
निर्वाचन आयोगका अनुसार फागुन २१ मा भएको निर्वाचनमा १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो ।
करिब ५ लाख मत बदर हुने अनुमानका आधारमा राष्ट्रिय दल बन्न झन्डै ३ लाख १२ हजार मत आवश्यक पर्ने देखिन्छ ।
प्रत्यक्षतर्फ श्रम संस्कृति पार्टीले तीन सिट जितिसकेको छ. भोजपुरबाट ध्रुवराज राई, सुनसरी–१ बाट हर्कराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका छन् ।
इलाममा श्रम संस्कृतिकै विनोद नेम्बाङ कांग्रेसका निश्कल राईसँग प्रतिस्पर्धामा छन् ।
राप्रपाले भने प्रत्यक्षतर्फ जुम्लाबाट ज्ञानेन्द्र शाही मात्रै विजयी भएका छन् ।























