images
images
  • जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत

    जुम्ला– बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

    एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

    खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उहाँको धरौटी जफत भएको छ ।

    त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल (११२ मत), नेमकिपाका विर्षबहादुर रावत (४०० मत), नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का बिर्ख शाही (७१ मत) र नेपाल जनता पार्टीका रनील विक्रम शाही (४३ मत) लगायतका दलीय उम्मेदवारहरूले जमानत जोगाउन सकेनन् ।

    स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलको समेत जमानत जफत भएको छ ।

    उम्मेदवारहरूले कानुनबमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन् ।

    खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले बताए ।

    जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका छन् ।

    दोस्रोमा नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन् ।

    यसैगरी नेकपा (एमाले)का शान्तिलाल महतले ४ हजार ५१८ मत, नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

    जम्मा खसेको कुल मतमध्ये १ हजार ७२४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेकोे छ ।

    समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको थियो ।

    जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images