images
images
  • प्रत्यक्षतर्फ १४ महिला सांसद भए निर्वाचित, को-को हुन् ?

    काठमाडौं- प्रत्यक्षतर्फका १६५ क्षेत्रका लागि ३ हजार ४०६ जनाको उम्मेदवारी परेको थियो । तीमध्ये ३८८ जना महिला उम्मेदवार थिए । जसमा विभिन्न दलबाट २३१ उम्मेदवार बनेका थिए भने १५७ जना स्वतन्त्र महिला उम्मेदवार थिए ।

    प्रत्यक्ष निर्वाचनमा महिलाले जित्दैनन् भनेर पार्टीले टिकट दिदैनन् । तर, फागुन २१ गतेको निर्वाचनले प्रत्यक्षमा नै १४ जना महिला उम्मेदवार निर्वाचित भएका छन् ।

    यी मध्ये १४ जना महिला उम्मेदवार विभिन्न दलबाट निर्वाचित भएका छन् । निर्वाचित हुने महिला उम्मेदवारमा १२ जना रास्वपाका हुन् भने एक जना नेपाली कांग्रेसकी हुन् ।

    को-को हुन ?
    १. पुष्पाकुमारी चौधरी
    सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाकी पुष्पाकुमारी चौधरी निर्वाचित भईन् । उनले ३८ हजार १९५ मतसहित स्वाभिमान पार्टीका सुमित कुमारलाई पराजित गरेकी हुन् ।

    सप्तरी जिल्लाकी सक्रिय महिला राजनीतिकर्मी उनी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिएकी थिईन् ।

    उनले पार्टीकी सक्रिय सदस्यका रूपमा स्थानीय र राष्ट्रिय राजनीति दुवै क्षेत्रमा कृयाशिल भएकै आधारमा उनि भारी मतले निर्वाचित भईन् ।

    ४६ वर्षीया चौधरी पार्टीले विश्वास गरेर टिकट दिए भने महिला पनि सहजै जित्न सक्ने बताउँछिन् । ‘जिल्लास्तरमा राजनीति गर्दै आएको थिएँ, चुनाव लड्न पार्टीमा दावी गरेँ । टिकट लिएर मैदानमा होमिएँ र जितेँ’ उनले भनिन् ।

    उनी पहिलोपटक चुनावमा प्रतिस्पर्धा गरेकी हुन् ।

    २. इन्दिरा रानामग
    झापा– २ बाट रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित विजयी भइन् । उनले निवर्तमान सभामुखसमेत रहेका एमालेका देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पछि पार्दै जित हासिल गरिन् ।

    ३. सोविता गौतम
    चितवन– ३ बाट रास्वपाकी सोविता गौतमले जित हासिल गरेकी छन् ।

    निवर्तमान सांसदसमेत रहेकी गौतमले नेकपाकी रेनु दाहाललाई भारी मतान्तरले पछि पार्दै जित हासिल गरेकी हुन् ।

    सोविताले ५९ हजार २७७ मत ल्याउँदा रेनु २० हजार ६१५ मत मात्र ल्याएकी थिईन् ।

    ४. रुविना आचार्य
    मोरङ– ६ बाट ५५ हजार ५१३ मतसहित रास्वपाकी रुविना आचार्य विजयी भएकी छन् । उनले कांग्रेसका शेखर कोइरालामाथि जित निकालेकी हुन् । उनले कोइरालालाई ४२ हजार ६६३ मतान्तरले पछि पारेर जित निकालेकी हुन् ।

    ५. निशा डाँगी
    झापा– १ बाट ४५ हजार ६८० मतसहित रास्वपाकै निशा डाँगी विजयी भएकी छन् ।

    उनले नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेलाई झण्डै ३५ हजार मतान्तरले पछि पारिन् ।

    ६. नीतिमा भण्डारी कार्की
    सर्लाही– १ बाट नीतिमा भण्डारी कार्की ४४ हजार १८१ मतसहित विजयी भएकी छन् ।

    उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत मात्रै पाएका छन् ।

    ७. डा तोसिमा कार्की
    ललितपुर– ३ बाट डा तोसिमा कार्की ४३ हजार ९६ मतसहित विजयी भएकी छन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन् ।

    ८. आशिका तामाङ
    धादिङ– १ बाट एमालेका भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्दै रास्वपाकी आशिका तामाङ विजयी भएकी छन् । उनले ३९ हजार १२८ मत प्राप्त गर्दा त्रिपाठीले १५ हजार ३१ मत मात्रै ल्याएका छन् ।

    ९. बिना गुरुङ
    कास्की– ३ मा बिना गुरुङ ३७ हजार ७५० मतसहित विजयी भएकी छन् ।

    उनले कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई पराजित गरेकी हुन् । गुरुङले १२ हजर ७८० प्राप्त गरे ।

    १०. आशा झा
    मोरङ– ५ बाट आशा झा ३० हजार ४३४ मतसहित विजयी भइन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका फूलकुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गरका थिए ।

    ११. कोमल ज्ञवाली
    कैलाली– १ बाट पनि रास्वपाकी महिला उम्मेदवार विजयी भएकी छन् । सो निर्वाचन क्षेत्रमा कोमल ज्ञवाली १७ हजार ८२६ मतसहित विजयी भइन् । उनले कांग्रेसका उम्मेदवार जनकराज चौधरीलाई पराजित गरेकी हुन् । चौधरीले १२ हजार ८७६ मत प्राप्त गरे ।

    १२. रञ्जु न्यौपाने (दर्शना)
    काठमाडौं– १ बाट रञ्जु न्यौपाने ९दर्शना० १५ हजार ४५५ मतसहित विजयी भएकी छन् । यस क्षेत्रमा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रवल थापाले ६ हजार ३६४ मत पाएका छन् ।

    १३. गौरी कुमारी
    रास्वपाकी अर्की महिला उम्मेदवार गौरी कुमारीले महोत्तरी– ४ मा अग्रता बनाएकी छन् । उनले अहिलेसम्म २६ हजार ८९० मत पाएकी छन् भने जनता समाजवादी पार्टी नेपालका सुरेन्द्रकुमार यादवले अहिलेसम्म ६ हजार ३०८ मत पाएका छन् ।

    १४. बासना थापा
    कांग्रेसबाट एक जना मात्रै महिला उम्मेदवारले प्रत्यक्ष चुनाव जितेकी छन् । दैलेख– १ बाट बासना थापाले १२ हजार ३७२ मतसहित चुनाव जितेकी हुन् ।

    उनले एमाले उम्मेदवार रवीन्द्रराज शर्मालाई ४७६ मतले पछि पार्दै जित आफ्नोपक्षमा परेकी हुन् । एमाले उम्मेदवार शर्माले ११ हजार ७९६ मत ल्याएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images