images
images
  • कोशी प्रदेशमा १६ सिट जितेको रास्वपाले तीन जिल्लामा गर्‍यो क्लिन स्वीप

    काठमाडौं- कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक्लैले १६ सिटमा जित दर्ता गराएको छ ।

    सुनसरी-४ मा मतगणना जारी रहँदा त्यहाँ पनि रास्वपा अगाडि छ ।

    झापा
    रास्वपाले झापाका ५, मोरङका ६ र उदयपुरका २ गरी कुल १३ वटा निर्वाचन क्षेत्रमा सानदार विजय हासिल गरेको छ ।

    एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पराजित गरे ।

    त्यस्तै, झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई रास्वपाका प्रकाश पाठकले पराजित गरे ।

    झापा–२ मा पूर्वउपसभामुख इन्दिरा राना मगरले ६० हजार ११० मतका साथ पूर्वसभामुख देवराज घिमिरेलाई ठूलो मतान्तरले पछि पारिन् ।

    झापा–१ मा रास्वपाकी निशा डाँगी र झापा–४ मा शम्भु प्रसाद ढकालले जित निकाल्दै झापामा रास्वपाले क्लिनस्वीप गर्‍यो ।

    मोरङ
    यस्तै मोरङका ६ वटै क्षेत्रमा रास्वपाले क्लिन स्वीप गर्दै ठूला दलहरूको संगठनलाई विस्थापित गरिदिएको छ ।

    मोरङ–६ मा कांग्रेसका नेता डा। शेखर कोइराला रास्वपाकी रुविना आचार्यसँग पराजित भए ।

    मोरङ–३ मा रास्वपाका गणेश कार्कीले चर्चित मेडिकल व्यवसायी तथा कांग्रेस नेता डा। सुनिल शर्मालाई ३६ हजार ९२४ मतका साथ स्तब्ध बनाए ।

    मोरङ–४ मा कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई रास्वपाका सन्तोष राजवंशीले भारी मतान्तरले पराजित गरे ।

    मोरङ–१ मा यज्ञमणि न्यौपाने, मोरङ–२ मा कृष्ण कार्की र मोरङ–५ मा आशा झाले विजय हासिल गर्दै मोरङमा नयाँ राजनीतिक अध्यायको सुरुवात गरे ।

    उदयपुर
    उदयपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाले सानदार जित निकालेको छ ।

    क्षेत्र नम्बर १ मा पारश मणि गेलालले ३० हजार ५९० मत प्राप्त गरी श्रम संस्कृति पार्टीका राजेश कुमार राईलाई पराजित गरे ।

    क्षेत्र नम्बर २ मा सूर्य बहादुर तामाङले एमालेका अम्बर बहादुर रायमाझीलाई पराजित गर्दै घन्टी बजाए । यस्तै ओखलढुंगामा पनि रास्वपाका विश्वमणि पोखरेलले काँग्रेसका कुमार लुइँटेललाई पराजित गरे ।

    कोशीमा अब इलाम १, संखुवासभा र सुनसरी ४ नम्बर क्षेत्रको अन्तिम मत परिणाम आउन बाँकी छ । त्यहाँ अहिले पनि मतगणना जारी छ ।

    जसमध्ये इलाम १ र संखुवासभामा एमालेका उम्मेदवार अग्रता छ भने सुनसरी ४ मा रास्वपाका उम्मेदवार अगाडि छन् ।

    घोषित २५ निर्वाचन क्षेत्रको मतपरिणाम अनुसार काँग्रेसबाट तेह्रथुमका सन्तोष सुब्बा, सोलुखुम्बुका प्रकाश सिंह कार्की र पाँचथरका नरेन्द्रकुमार केरुङ विजयी बनेका छन् ।

    १६ वटा क्षेत्रमा जित निकाल्दै गर्दा रास्वपाले झापा, मोरङ, उदयपुर र ओखलढुंगामा क्लिन स्वीप गरेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images