काठमाडौं- आइतबार बिहान नहुँदै सर्लाही-४ बाट आएको निर्वाचन परिणामलाई लिएर पुरानो दल कांग्रेसभित्र अनेकन खासखुस, चिन्ता र चर्चा सुरु भएको छ ।
काठमाडौं-४ को चुनावी मैदान छाडेर पार्टी सभापति गगन थापा किन त्यहाँ पुगे र कसले यो सबै पृष्ठभूमि तयार पार्यो भन्ने विषय भने सबैभन्दा धेरै चर्चामा छ ।
विशेष महाधिवेशनले पुस ३० गते सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयन गरे पनि निर्वाचन आयोगले त्यसको वैधानिकता माघ ४ गते मात्रै दिएको थियो ।
माघ ६ गते उम्मेदवार मनोनयनको दिन थियो । त्यो चापाचापमा सभापति थापासँग न पर्याप्त समय थियो, न त तयारी नै । त्यही धपेडीका बेला उनले तीनपटक जिताएका काठमाडौं-४ का मतदाता छाडेर सर्लाही-४ मा जाने निर्णय लिए ।
सभापतिको सर्लाही गमनलाई लिएर यतिबेला कांग्रेसकै नेताहरूले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरेका छन् । कतिपयले उनलाई त्यहाँ कसले लगेको थियो भनेर खोजबिन गर्नुपर्ने बताएका छन् ।
कतिपयले भने विशेष महाधिवेशनको औचित्य र वैधता समाप्त भएको टिप्पणी गर्दै उनको नैतिकतामै प्रश्न तेर्स्याएका छन् ।
विद्यार्थी राजनीतिदेखि नै परिवर्तन, सुधार र नयाँ पुस्ताको प्रतीक बनेर उभिएका थापाले पछिल्लो एक दशकमा सबैभन्दा सक्रिय र मुखर नेताको परिचय बनाएका थिए ।
संसदमा हुँदा होस् वा पार्टी सरकारमा हुँदा होस्, उनले खुलेर आलोचना गर्ने, नीति बहस उठाउने र जनचासोका मुद्दा अघि सार्ने नेताका रूपमा छवि बनाएका थिए ।
स्वास्थ्य मन्त्री हुँदा गरेका सुधार प्रयासदेखि लिएर संसदमा दिएका धारिला भाषणसम्म उनले आफूलाई नयाँ पुस्ताको प्रतिनिधि नेताका रूपमा स्थापित गरेका थिए ।
त्यसैले कांग्रेसका धेरै नेता तथा कार्यकर्ताले उनको हारलाई एउटा निर्वाचन क्षेत्रको परिणामसँग मात्रै तुलना गरेका छैनन् ।























