काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनबाट प्रत्यक्षतर्फ १४ जना महिला उम्मेदवार निर्वाचित भएका छन्। तीमध्ये १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट र एक जना नेपाली कांग्रेसबाट विजयी भएका हुन्। निर्वाचित महिलामध्ये ७ जना ४० वर्ष मुनिका युवा रहेका छन्।
कांग्रेसबाट दैलेखकी ४५ वर्षीया बासना थापा मात्र निर्वाचित भएकी छन्। उनी यसअघि २०७४ मा नारायण नगरपालिका उपप्रमुख पदमा उम्मेदवार बने पनि पराजित भएकी थिइन्। १२ वर्षपछि दैलेखमा कांग्रेसले प्रतिनिधि सभामा जित हासिल गरेको हो।
कोशी प्रदेशमा रास्वपाका ४ महिला निर्वाचित भएका छन्। झापा–१ बाट २९ वर्षीया निशा डाँगी, झापा–२ बाट ५५ वर्षीया इन्दिरा रानामगर, मोरङ–५ बाट ४२ वर्षीया आशा झा र मोरङ–६ बाट ३१ वर्षीया रूबिना आचार्य विजयी भएका छन्।
मधेस प्रदेशमा रास्वपाका ३ महिला निर्वाचित भएका छन्। सप्तरी–१ बाट ३६ वर्षीया पुष्पाकुमारी चौधरी, सर्लाही–१ बाट ४३ वर्षीया नितिमा भण्डारी कार्की र महोत्तरी–४ बाट ५४ वर्षीया गौरीकुमारी विजयी भएका हुन्।
बागमती प्रदेशमा पनि रास्वपाका ४ महिला विजयी भएका छन्। धादिङबाट ३६ वर्षीया आशिका तामाङ, काठमाडौं–१ बाट ३० वर्षीया रञ्जु दर्शना न्यौपाने, ललितपुर–३ बाट ३६ वर्षीया डा. तोसिमा कार्की र चितवन–३ बाट ३० वर्षीया सोबिता गौतम निर्वाचित भएका छन्।
त्यसैगरी गण्डकी प्रदेशको कास्की–३ बाट ५३ वर्षीया बिना गुरुङ र सुदूरपश्चिम प्रदेशको कैलाली–१ बाट ४७ वर्षीया कोमल ज्ञवाली विजयी भएका छन्।
नेपालमा २०१५ सालको पहिलो संसदीय निर्वाचनदेखि महिला प्रतिनिधित्व विस्तार हुँदै आएको छ। नयाँ संविधानपछि संघीय संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। यसपटक प्रत्यक्षतर्फ १४ महिला निर्वाचित भएका छन् भने समानुपातिक प्रणालीबाट थप महिलाहरू संसदमा पुग्नेछन्।























