काठमाडौं– रुकुम पश्चिमको प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट आन्दोलनका पुराना सहयात्रीबीच रोचक प्रतिस्पर्धा देखियो ।
विगतमा चार पटकसम्म जनार्दन शर्मालाई चुनाव जिताउन चुनावी कमान्ड सम्हालेका गोपाल शर्मा ‘अनल’ यसपटक भने उनैलाई पराजित गर्दै संघीय संसद्मा पुगेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्मा ‘अनल’ले २१ हजार ६०९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका राजु केसी १६ हजार ६६१ मतसहित दोस्रो भए ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनाव लडेका जनार्दन शर्मा १४ हजार ३४६ मतसहित तेस्रो स्थानमा सीमित भए ।
रुकुम पश्चिमको कम्युनिस्ट विरासत जोगाउने एजेन्डासहित चुनावी मैदानमा उत्रिएका अनलले यसअघि २०६४, २०७०, २०७४ र २०७९ का चुनावमा जनार्दन शर्मालाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
तर यसपटक राजनीतिक समीकरण फेरिँदा उनी स्वयं विजयी बने ।
२०७४ मा कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएका शर्मा २०७८ मा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीसमेत बनेका थिए ।
अब उनी पहिलो पटक संघीय संसद्मा प्रवेश गर्दै छन् ।
रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा जन्मिएका शर्मा विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् ।
तीन दशकभन्दा लामो राजनीतिक अनुभव बोकेका उनले अब रुकुमको विकास र कम्युनिस्ट विरासत जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।























