images
images
  • २२ दलको एकताबाट बनेको नेकपालाई सिटभन्दा बढी निराशा : प्रचण्ड सुरक्षित, अन्य शीर्ष नेताहरूलाई झट्का

    काठमाडौं– जेन–जी आन्दोलनका क्रममा भएको दमन तथा सिंहदरबारलगायत सरकारी संरचनामा भएको क्षतिको विरोध गर्दै आफूलाई सुशासन र परिवर्तनको पक्षधर शक्तिका रूपमा प्रस्तुत गरेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा सामना गरेको छ।

    माओवादी केन्द्र, एकीकृत समाजवादीसहित २२ दलको एकताबाट बनेको नेकपामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने निर्वाचित हुन सफल भए पनि सहसंयोजक माधवकुमार नेपालसहित धेरै शीर्ष नेता पराजित भएका छन्।

    अघिल्लो निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनमा रहेको अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कुल ४२ सिट जितेका थिए। तर यसपटकको निर्वाचनमा नेकपाले जम्मा सात सिट जित्ने अवस्था देखिएको छ। वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र महेन्द्र राय यादवजस्ता प्रभावशाली नेताहरू समेत पराजित भएका छन्।

    यद्यपि केही स्थानमा नेकपाका उम्मेदवार विजयी भएका छन्। वर्षमान पुन रोल्पाबाट निर्वाचित भएका छन् भने महेन्द्रबहादुर शाही कालीकोटबाट विजयी भएका छन्। त्यस्तै रमेश मल्ल (सल्यान), गोपाल शर्मा (रुकुम पश्चिम), युवराज दुलाल (सिन्धुपाल्चोक–२) र धनबहादुर बुढा (डोल्पा) पनि विजयउन्मुख छन्।

    एक समय संसद्मा ६० प्रतिशतभन्दा बढी उपस्थिति बनाएका वामपन्थी दलहरू अहिले भने कमजोर अवस्थामा पुगेका छन्।

    नेकपा नेताहरूले भने निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको स्वीकार गर्दै यसको मुख्य कारण ‘पोलिटिकल वेभ’ भएको बताएका छन्। नेकपा नेता लीलामणि पोखरेलका अनुसार चुनावमा नयाँ र पुरानो शक्तिबीचको भाष्य बलियो रूपमा स्थापित भयो।

    उनले भने, “मुख्यतः पोलिटिकल वेभले काम गर्‍यो। नयाँ र पुरानो शक्तिबीचको बहस खडा गरियो। पुरानाभन्दा नयाँलाई अवसर दिनुपर्छ भन्ने भाष्यले नेकपामा पनि असर गर्‍यो।”

    पोखरेलले जेन–जी आन्दोलनका क्रममा उठेका सुशासन, सामाजिक न्याय, रोजगारी र समृद्धिका एजेन्डा मूलतः नेकपाकै भएको दाबी गरे। उनका अनुसार भूराजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय राजनीतिक चलखेलले पनि निर्वाचन परिणाममा प्रभाव पारेको हुन सक्छ।

    उनले अहिलेको अवस्था राजनीतिक ध्रुवीकरणको प्रक्रियाको हिस्सा भएको बताए। “हामी राजनीतिक ध्रुवीकरणकै प्रक्रियामा छौँ। फरक–फरक राजनीतिक दल र समूह मिलेर पार्टी बनेको हो। त्यसको परिणाम देखिन केही समय लाग्छ,” उनले भने, “यो ध्रुवीकरण अझै अघि बढ्छ र आगामी दिनमा यसको प्रभाव देखिनेछ।”

    जेन–जी आन्दोलनको समयमा तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादी प्रतिपक्षमा थिए। आन्दोलनपछि ती दलहरूबीच एकता भई नेकपा बनेको थियो, जसमा विभिन्न २२ दल र समूह समाहित भएका थिए।

    नेकपा नेताहरूका अनुसार तत्कालीन सरकारका गतिविधिप्रति जनतामा देखिएको असन्तुष्टि र आक्रोशको असर पनि यसपटकको निर्वाचन परिणाममा परेको हुन सक्छ। यद्यपि उनीहरूले निर्वाचनको परिणामलाई स्वीकार गर्दै आगामी रणनीति तय गर्ने बताएका छन्।

    पोखरेलले भने, “निर्वाचन परिणाम स्वीकार गर्नुको विकल्प छैन। यसले गम्भीर राष्ट्रिय बहस जन्माएको छ। नयाँ राजनीतिक शक्तिको नीति र कार्यक्रमलाई पनि हामी ध्यानपूर्वक अध्ययन गरेर आगामी कदम चाल्नेछौँ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images