काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा आगामी पाँच वर्षका लागि संसदमा ६ दलको मात्र प्रतिनिधित्व हुने संकेत देखिएको छ। प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ठूलो शक्तिका रूपमा उभिँदै दुई तिहाइतर्फ अग्रसर देखिएको छ।
हालसम्म रास्वपाले ३८ सिट जितिसकेको छ भने ८१ क्षेत्रमा अग्रता कायम गरेको छ। नेपाली कांग्रेस ५ सिटमा विजयी भएर ११ क्षेत्रमा अगाडि छ भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) २ सिट जित्दै ८ क्षेत्रमा अग्रता लिइरहेको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २ सिट जित्दा ८ क्षेत्रमा अगाडि छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ सिट जित्ने नजिक पुगेको छ भने श्रम संस्कृति पार्टी ४ क्षेत्रमा अग्रता लिइरहेको छ।
समानुपातिकतर्फ पनि रास्वपाको मत निकै अगाडि छ। हालसम्म गणना भएको मतअनुसार रास्वपाले करिब १ लाख १९ हजार मत पाएको छ। कांग्रेसले ३६ हजार, एमालेले २६ हजार, राप्रपाले १० हजार, नेकपाले ९ हजार र श्रम संस्कृतिले ६ हजारभन्दा बढी मत प्राप्त गरेका छन्।
२०७९ को निर्वाचनमा प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व भएको थियो। तर यसपटक धेरै साना दल संसद बाहिरिने सम्भावना देखिएको छ। साथै यसपटक स्वतन्त्र उम्मेदवारमध्ये महावीर पुन बाहेक अरूले जित्ने सम्भावना कम देखिएको प्रारम्भिक परिणामले देखाएको छ।























