काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ले उल्लेखनीय अग्रता लिएको छ। हालसम्म उक्त पार्टीले २७ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने ९० क्षेत्रमा अग्रता कायम गरेको छ।
निर्वाचन आयोगका अनुसार अहिले सम्म ३४ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १६१ क्षेत्रमा मतगणना जारी छ।
यसबीच नेपाली कांग्रेस ले ४ क्षेत्रमा जित निकालेको छ भने थप १० क्षेत्रमा अग्रता लिइरहेको छ। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष पुष्पकमल दाहाल रुकुम पूर्व–१ बाट निर्वाचित भएका छन् र सो पार्टी ११ क्षेत्रमा अगाडि छ।
यस्तै नेकपा (एमाले) ले हालसम्म १ क्षेत्रमा जित निकाल्दै १० क्षेत्रमा अग्रता कायम गरेको छ। म्याग्दी–१ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन्।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।























