images
images
  • अधिकृत दीपा गौतमले किन निकालिन् नेपाली सेनालाई मतदान केन्द्रबाट बाहिर ?

    काठमाडौं- पूर्वी नवलपरासीमा एकजना मतदान अधिकृतले हतियारधारी नेपाली सेनालाई मतदान केन्द्रबाट बाहिर पठाएको भिडियो सामाजिक सन्जालमा भाइरल छ ।

    यो भाइरल दृष्य कावासोती नगरपालिका वडा नम्बर ३ को जीवनज्योती मावि मतदान स्थलको हो ।

    सो मतदान स्थलको ‘क’ केन्द्रमा खटिएकी मतदान अधिकृत दीपा गौतमले मतदान गर्ने ठाउँ नजिकै पुगेका हतियारधारी एक सैनिकलाई मतदानस्थलको गेट बाहिर पठाएकी थिइन् ।

    सुरुमा हतियारधारी सैनिक मतदान केन्द्रभित्र आएको देखेपछि मतदान अधिकृत गौतमले कारण सोधेकी थिइन् ।

    त्यसक्रममा ती सैनिकले चालकलाई छिटो भोटिङको व्यवस्था मिलाइदिनका लागि आएको बताएका थिए ।

    त्यसपछि मतदान अधिकृत गौतमले समन्वय अवस्थामा हतियारसहित सेना मतदान केन्द्रभित्र प्रवेश गर्न नपाउने भन्दै बाहिर जान भनेकी थिइन् ।

    त्यसपछि ती सैनिकले ‘हतियार बाहिर राख्न बिर्सिएको’ र मतदातालाई सहजीकरण मात्र गर्न खोजेको भनेर बचाउ गरेका थिए ।

    तै पनि मतदान अधिकृत गौतमले ‘हजुर बाहिर गएर बसिहाल्नुपर्छ ।

    जाऔं-जाऔं’ भन्दै उनलाई मतदान स्थलको गेट बाहिर पठाएकी थिइन् । उनी आफैं ती सैनिकलाई बाहिर पठाउन गेटसम्म पुगेकी थिइन् ।

    प्रत्यक्षदर्शी एक कर्मचारीका अनुसार बिहानको समयमा मतदाताको खासै भिडभाड थिएन ।

    सामान्य ढंगले र शान्तिपूर्ण वातावरणमा मतदान भइरहेका बेला एक जना सैनिक बन्दुक बोकेर मतदानस्थल भित्र छिरेका थिए ।

    ती सैनिकले एक जना सवारी चालकलाई साथमा ल्याएका थिए । र, छिटो मतदानको पालो दिन अनुरोध गर्दै मतदान केन्द्रभित्र छिरेका थिए ।

    त्यसैले ती सैनिकलाई सरकारले तोकेको जिम्मेवारी सम्झाउँदै मतदान अधिकृत गौतमले बाहिर बस्न भनेकी हुन् ।

    ‘ती सैनिकको कुरा बुझ्दा अन्जान ढंगले मतदान केन्द्रभित्र आएको पाइयो, तै पनि उहाँलाई बाहिरै रहेर सुरक्षा दिन मतदान अधिकृतले भन्नुभयो,’ एक कर्मचारीले भने ।

    यसबारेमा बुझ्न खोज्दा मतदान अधिकृत गौतमको मोबाइल नम्बरमा सम्पर्क स्थापित हुन सकेन । हामीले मोबाइल र ह्वाट्सएपमा कल गर्दा पनि गौतमको फोन उठेन ।

    जीवनज्योति मावि मतदान केन्द्रमा करिब १३ सय ९० जना मतदाता थिए । त्यहाँ ९४० मत खसेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images