images
images
  • चितवनमा ६० प्रतिशत मत खस्यो

    काठमाडौं- प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवनमा ६० प्रतिशत मत खसेको छ ।

    ३ निर्वाचन क्षेत्र रहेको चितवनमा बिहीबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म मतदानमा ६० प्रतिशतले मात्र मत हालेका हुन् ।

    जिल्ला निर्वाचन कार्यालय चितवनका निर्वाचन अधिकृत भिमसेन कार्कीका अनुसार प्रारम्भिक चरणमा ६० प्रतिशत मत खसेको हो । पुरा रिपोर्ट आउन बाँकी छ ।

    जिल्लामा ४ लाख ४२ हजार ८२ मतदाता रहेको छन् । त्यसमध्ये २ लाख २४ हजार ७६६ महिला, २ लाख १७ हजार ३१४ पुरुष मतदाता र २ जना अन्य मतदाता रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

    ३ हजार १८५ जना अस्थायी मतदाता रहेका छन् । जसमा १६२ जना कारागारमा रहेका कैदीबन्दी हुन् । उनीहरुले समानुपातिक तर्फ मात्र मत खसालेका छन् ।

    मतदान सकिएपछि हाल मतदान स्थलमा मतपेटिका ल्याउने क्रम जारी रहेको छ । मतपेटिका सङ्कलन सम्पन्न भए लगत्तै सर्वदलीय बैठक बसेर मतगणना कार्य थालिने चितवनका मुख्य निर्वाचन अधिकृत केदार पौडेलले जानकारी दिए ।

    ३ निर्वाचन क्षेत्र रहेको चितवनमा तीन ठाउँमा मत गणना गर्ने तयारी रहेको छ ।

    चितवन १ को मतगणना खैरहनी नगरपालिका ६ को भुवानीशंकर क्याम्पसमा, चितवन २ को भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा र चितवन ३ को रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना गरिनेछ ।

    मतगणनास्थलमा तारजालीको छेकबार लगाउनुका साथै सीसीटीभी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images