दोलखा- प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गौरीशंकर गाउँपालिका-९ वेदिङ स्थित मतदान केन्द्रमा एक जना पनि मतदाता उपस्थित नभएपछि मतदान प्रक्रिया प्रभावित भएको छ।
वेदिङ आधारभूत विद्यालय रोल्वालिङमा स्थापना गरिएको मतदान केन्द्रमा ११३ जना मतदाता रहे पनि हालसम्म कोही पनि मतदान गर्न नआएको जिल्ला प्रशासनले जनाएको छ। मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी बिहानदेखि मतदाता कुरेर बसेका छन्।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेका अनुसार स्थानीय बासिन्दाले आफ्नो आवाज कहिल्यै नसमेटिएको र उम्मेदवारहरू गाउँमा मत माग्न नआएको भन्दै मतदान बहिष्कार गरेका हुन्।
भौगोलिक रूपमा दुर्गम उक्त गाउँका अधिकांश मतदाता हाल काठमाडौं लगायतका शहरमा बसोबास गर्ने भएकाले पनि मतदानमा उपस्थिति कम भएको बताइएको छ। निर्वाचन अधिकृतले भने मतदान समय सकिएसम्म मतदाता कुरिने जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्























