काठमाडौं- अमेरिकी पनडुब्बीको टारपीडो आक्रमणमा इरानी युद्धपोत डुबेर कम्तीमा ८७ नाविकको मृत्यु भएको घटनापछि अर्को इरानी युद्धपोत बिहीबार श्रीलङ्काको क्षेत्रीय जलक्षेत्रतर्फ अघि बढिरहेको जानकारी श्रीलङ्काली सरकारका एक मन्त्रीले संसद्लाई दिएका छन् । घटनापछि क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बनेको छ ।
सञ्चारमन्त्री नलिन्दा जयतिसाले संसद्मा जानकारी दिँदै दोस्रो इरानी युद्धपोत हाल श्रीलङ्काको क्षेत्रीय जलक्षेत्रभन्दा बाहिर रहेको बताए । उनेपाल् ले जहाजको अवस्थाबारे थप प्राविधिक विवरण भने सार्वजनिक गरे ।
यसैबीच राष्ट्रपति अनुरा कुमारा दिसानायकले इरानबाट आएको अनुरोधबारे छलफल गर्न बिहीबार शीर्ष सुरक्षा र सरकारी अधिकारीहरूसँग बैठक गर्नुभएको आधिकारिक स्रोतहरूले जनाएका छन् । इरानी पक्षले आफ्नो युद्धपोतलाई श्रीलङ्काको जलक्षेत्रमा प्रवेश अनुमति दिन अनुरोध गरेको बताइएको छ ।
स्रोतहरूका अनुसार उक्त जहाजमा १०० भन्दा बढी चालक दलका सदस्य रहेका छन् । उनीहरूलाई बुधबार अमेरिकी पनडुब्बीले श्रीलङ्काको दक्षिणी तट नजिकै डुबाएको उस्तै प्रकारको अर्को युद्धपोतजस्तै आफूहरू पनि आक्रमणको लक्ष्य बन्न सक्ने चिन्ता रहेको बताइएको छ ।
बुधबार भएको आक्रमण गलेबाट करिब ४० किलोमिटर दक्षिणतर्फ भएको श्रीलङ्काली नौसेनाले जनाएको छ । अमेरिकी सेनाले टारपीडो प्रहार गरेको दाबी गरिएको उक्त आक्रमणमा इरानी युद्धपोत पूर्ण रूपमा डुबेको थियो ।
डुबेको जहाजबाट उद्धार गरिएका ३२ जना इरानी नाविकहरूको गलेको मुख्य अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अधिकारीहरूका अनुसार उनीहरूलाई कडा सुरक्षाबीच उपचार गरिँदैछ र प्रहरी तथा विशेष कमान्डो टोलीले अस्पताल परिसरमा निगरानी राखेको छ


विश्व खबर 



















