काठमाडौं- श्रीलङ्काको दक्षिणी समुद्री तट नजिक एक इरानी युद्धपोत डुब्दा झण्डै १५० जना बेपत्ता भएका छन् भने केहीको मृत्यु भएको आशङ्का गरिएको छ । अधिकारीहरूका अनुसार बुधबार बिहान जहाजमा भएको सम्भावित विस्फोटपछि उक्त दुर्घटना भएको हो, तर यसको कारण अझै स्पष्ट हुन सकेको छैन ।
श्रीलङ्काली नौसेनाले ‘आईआरआईएस डेना’ नामक युद्धपोतबाट ३२ जनाको सकुशल उद्धार गरेको जनाएको छ । तर बाँकी १४८ जना अझै बेपत्ता रहेका छन् । उद्धार गरिएका घाइतेहरूलाई गालेस्थित मुख्य अस्पतालमा भर्ना गरिएको छ ।
विदेशमन्त्री विजिथा हेराथका अनुसार युद्धपोतले बुधबार बिहानै आपतकालीन सन्देश पठाएको थियो । त्यसको एक घण्टाभित्रै गाले बन्दरगाहबाट करिब ४० किलोमिटर दक्षिणमा रहेको घटनास्थलमा उद्धार टोली पुगेको थियो । तर टोली पुग्दा जहाज पूर्ण रूपमा डुबिसकेको थियो र समुद्रको सतहमा तेलको तह मात्र देखिएको थियो ।
नौसेनाका प्रवक्ता बुद्धिका सम्पथले श्रीलङ्काले आफ्नो अन्तर्राष्ट्रिय समुद्री दायित्वअनुसार खोज तथा उद्धार कार्य अघि बढाएको बताउनुभएको छ । उहाँका अनुसार जहाज डुबेको क्षेत्र श्रीलङ्काको खोज तथा उद्धार क्षेत्रभित्र पर्छ । खोजी कार्यका क्रममा केही शव फेला परेको जानकारी पनि दिइएको छ ।
गालेस्थित करापिटिया शिक्षण अस्पतालका निर्देशकले हालसम्म ३२ जना घाइते मात्र अस्पताल ल्याइएको पुष्टि गरेका छन् । मृतकको सङ्ख्या भने आधिकारिक रूपमा सार्वजनिक गरिएको छैन ।
उक्त युद्धपोत भारतको विशाखापट्टनम बन्दरगाहमा सम्पन्न सैन्य अभ्यासमा सहभागी भएर फर्किरहेको बताइएको छ । यसैबीच मध्यपूर्व क्षेत्रमा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव चर्किएको अवस्थामा यो घटना भएको हो ।
संसदमा एक विपक्षी सांसदले जहाजमाथि आक्रमण भएको हो कि भन्ने प्रश्न उठाए पनि सरकारले तत्काल त्यसबारे प्रतिक्रिया दिएको छैन । कोलम्बोस्थित इरानी राजदूतले पनि हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।


विश्व खबर 



















