काठमाडौं- लिबियाको समुद्री तट नजिक तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको रुसी ट्याङ्कर डुब्दा रुसले यस घटनामा युक्रेनलाई दोष लगाएको छ ।
लिबियाको सर्टे बन्दरगाह प्राधिकरणका अनुसार ‘आर्कटिक मेटागाज’ ट्याङ्कर मङ्गलबार राति अचानक विस्फोट भएपछि आगो फैलिएको र अन्ततः पूर्ण रूपमा डुबेको हो । रुसको यातायात मन्त्रालयले भने जहाजमाथि युक्रेनी नौसैनिक ड्रोनबाट आक्रमण भएको दाबी गरेको छ । मन्त्रालयले यसलाई ‘अन्तर्राष्ट्रिय आतङ्कवाद र समुद्री डकैती’ को कार्य भएको बताएको छ ।
सोमबार रातिदेखि सामाजिक सञ्जालमा प्रसारित भिडियो र तस्बिरहरूले समुद्रमा ठूलो विस्फोट भएको देखाएका छन्, यद्यपि ती प्रमाण स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।
लिबियाली प्राधिकरणका अनुसार जहाजमा करिब ६२ हजार मेट्रिक टन एलएनजी लोड गरिएको थियो र यो इजिप्टको पोर्ट सईदतर्फ जाँदै थियो । रुसी मन्त्रालयले जहाज उत्तरी रुसको मुरमान्स्क बन्दरगाहबाट प्रस्थान गरेको जनाएको छ ।
रुसले जहाजमा रहेका सबै ३० चालक दलका सदस्यको सकुशल उद्धार भएको जानकारी दिएको छ । दुर्घटना सर्टे बन्दरगाहबाट करिब १३० समुद्री माइल उत्तरतर्फ, लिबियाको खोज तथा उद्धार क्षेत्रभित्र भएको बताइएको छ । प्राधिकरणले अन्य जहाजहरूलाई दुर्घटना स्थल नजिक नजान चेतावनी दिएको छ ।
लिबियाको राष्ट्रिय तेल निगमले ट्याङ्कर केवल मध्य भूमध्यसागर हुँदै पारगमनमा रहेको थियो र यस घटनाले स्थानीय तेल–ग्यास आपूर्तिमा कुनै असर नपारेको स्पष्ट पारेको छ । कम्पनीले लिबियाली बन्दरगाहहरूमा यातायात सामान्य रहेको पनि जनाएको छ ।


विश्व खबर 



















