भोजपुर- भोजपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार युवराज थापाले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वमुख्यमन्त्री शेरधन राईलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत थापाले देशको अस्तित्व जोगाउन, सुरक्षा निकायको मनोबल उच्च राख्न र भोजपुरको विकासका अधुरा काम पूरा गर्न आफूले यस्तो निर्णय लिएको बताएका छन् ।
उनले आफ्नो उम्मेदवारी त्याग राष्ट्रहितको पक्षमा लिएको ऐतिहासिक निर्णय भएको दाबी गरेका छन् ।
विज्ञप्तिमा उनले पछिल्ला दिनमा देशमा उत्पन्न अस्थिरता, हिंसा र विदेशी शक्तिको चलखेलप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन् ।
साथै उनले सुरक्षा निकायमाथि राजनीतिक स्वार्थअनुसार प्रयोग भएको आरोप लगाउँदै दोषीलाई सार्वजनिक गरी कारबाही गर्न माग गरेका छन् ।
थापाले आफ्ना चार मुख्य मागसमेत अघि सारेका छन् :
१. हालैका घटनामा संलग्न वास्तविक दोषीलाई सार्वजनिक गरी कारबाही गर्नुपर्ने ।
२. गौरीबहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने ।
३. राष्ट्रघाती सम्झौताहरू खारेज गरी नेपालको सार्वभौमिकता रक्षा गर्नुपर्ने ।
४. सुरक्षा निकायलाई राजनीतिक खेलको गोटी बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने ।
उनले यो निर्णय व्यक्तिगत स्वार्थका लागि नभई एक राष्ट्रवादी युवाको विवेकपूर्ण विद्रोह भएको उल्लेख गर्दै आफ्ना समर्थक र भोजपुरवासीलाई सूर्य चिह्नमा मतदान गर्न अपिल गरेका छन् ।
भोजपुर–१ मा थापाको उम्मेदवारी फिर्तासँगै निर्वाचन समीकरणमा नयाँ प्रभाव पर्ने राजनीतिक विश्लेषकहरूको आकलन छ ।
एमाले उम्मेदवार राईलाई थप बल पुगेको मानिएको छ भने अन्य दलहरूले यसलाई स्वाभाविक राजनीतिक प्रक्रिया बताएका छन् ।
थापा आम जनता पार्टीबाट उम्मेदवार थिए ।
























