सिद्धार्थनगर (रुपन्देही)- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरीले देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन लक्षित एकीकृत सुरक्षा रणनीति तयार गरी सबै प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म प्रभावकारी रूपमा लागू गरिएको जनाएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको स्पष्ट कार्यदिशाअनुरूप निर्वाचन सम्पन्न गर्न मातहतका सबै निकायलाई निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ । उनले निर्वाचन सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै देशभरका सुरक्षा प्रमुखहरूसँग नियमित समन्वय, अनुगमन र ब्रिफिङमार्फत तयारीलाई तीव्रता दिए ।
सुरक्षा निकायको विश्लेषणअनुसार विगतको तुलनामा वर्तमान निर्वाचन केही संवेदनशील र प्रतिकूल परिस्थितिमा हुन लागेको छ । मतदान केन्द्र तथा मतदानस्थलको सङ्ख्या वृद्धि, अतिसंवेदनशील तथा विकट भूभागमा रहेका केन्द्रहरू र विविध राजनीतिक गतिविधिका कारण सुरक्षा व्यवस्थापन चुनौतीपूर्ण देखिए पनि प्रहरीले तयारीलाई सुदृढ बनाएको सुरक्षा विज्ञहरू बताउँछन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएका मतदानस्थलमा सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । न्यूनतम स्रोत, साधनको अधिकतम उपयोग गर्दै देशभरका मतदान केन्द्रहरूमा आवश्यक जनशक्ति खटाइएको छ । कतिपय दुर्गम क्षेत्रमा सवारीसाधनको अभावका बाबजुद सुरक्षाकर्मी पैदल गस्तीमा खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पुराना हतियार तथा सवारीसाधनका सीमितताबीच पनि उच्च मनोबलका साथ प्रहरी परिचालन हुनु सङ्गठनात्मक दृढताको उदाहरण भएको सुरक्षा विश्लेषकहरूको भनाइ छ ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले वरिष्ठ प्रहरी अधिकृतहरूलाई समेत प्रत्यक्ष रूपमा मतदानस्थलमा खटाइएको जानकारी दिए । उहाँका अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)स्तरको कमाण्ड संरचनामार्फत प्रदेश तथा विशेष क्षेत्रको समन्वय गरिएको छ भने जिल्लामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा एकीकृत सुरक्षा संयन्त्र परिचालित गरिएको छ ।























