images
images
  • मध्यपूर्वमा रहेका १७ लाख नेपाली सुरक्षित भएपनि अझै त्रास, ट्रान्जिटमा १ हजारभन्दा बढी परे अलपत्र

    काठमाडौं- अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व (पश्चिम एसिया)मा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् ।

    संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको घटनाबाहेक अन्य नेपाली सुरक्षित छन् ।

    सरकारले तत्काल खतरा नरहेको दोहोर्‍याए पनि युद्धको सम्भावित विस्तार र हवाई अवरोध लम्बिँदै जाँदा लाखौँ नेपाली श्रमिकको सुरक्षालाई लिएर चिन्ता भने बढ्दो छ ।

    हवाई उडान ठप्प, सैन्य गतिविधि तीव्र र कूटनीतिक सतर्कता बढेसँगै सरकार पनि आकस्मिक तयारीमा जुटेको छ ।

    सरकारले परराष्ट्रसचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ ।

    टोलीमा गृह, अर्थ, कानुन, पर्यटन तथा नागरिक उड्डयन, कन्सुलर सेवा विभाग, राहदानी विभाग, नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका प्रतिनिधि छन् ।

    पश्चिम एसिया मामिला हेर्ने महाशाखा प्रमुख तथा टोलीका सदस्यसचिव रामकाजी खड्काका अनुसार सम्भावित उद्धार रणनीति र परिस्थितिको निरन्तर विश्लेषण सुरु भइसकेको छ ।

    उनका अनुसार पश्चिम एसियाली मुलुकहरूसँग नेपालको सुमधुर सम्बन्ध छ । ती सरकारहरूले पनि नेपालीहरूसहित त्यहाँ रहेका विदेशी नागरिकको सुरक्षामा गम्भीर चासो देखाएका छन् । इमर्जेन्सी रेस्पोन्स टिमले काम थालिसकेका छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार खाडी क्षेत्रका १० कूटनीतिक नियोग २४ सै घण्टा सक्रिय रहन्छ । नेपालीको सुरक्षा पहिलो प्राथमिकता हो ।

    ट्रान्जिटमा एक हजारभन्दा बढी नेपाली
    क्षेत्रीय हवाई उडान अवरुद्ध हुँदा अबुधाबी, दुबई, दोहा र कुवेतका विमानस्थलमा कम्तीमा एक हजार नेपाली पारगमनमै रोकिएका छन् ।

    सम्बन्धित एयरलाइन्सले उनीहरूको अस्थायी बसोबास र खानपानको व्यवस्था मिलाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    इरानबाट फर्किने क्रममा दुई नेपाली दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अड्किएका छन् । उनीहरू तेहरान–बाकु हुँदै दुबई पुगेपछि उडान बन्द भएको थियो ।

    इरानमै रहेका अन्य ६ जनाले फर्किन आनाकानी गरेको र दुईजनाको बसोबास अनुमति ९रेसिडेन्सी कार्ड० समेत सकिएको अवस्था रहेको मन्त्रालयले जनाएको छ ।

    कुन देशको अवस्था के ?
    युएईमा एक नेपालीको ज्यान गएको छ । त्यहाँ अन्य नेपाली सुरक्षित छन् । युएई सरकारले ट्रान्जिटमा रहेका विदेशीलाई होटेलमा बस्ने व्यवस्था गरेको छ र आफ्नो सुरक्षा प्रणाली सक्षम रहेको भन्दै राजदूतहरूलाई ब्रिफिङ दिएको जानकारी अबुधाबीस्थित नेपाली दूतावासले पठाएको छ ।

    बहराइनस्थित अमेरिकी सैन्य बेसलक्षित आक्रमणका खबर आए पनि त्यहाँका नेपाली सुरक्षित छन् ।

    कुवेतमा अमेरिकी दूतावास अस्थायी रूपमा बन्द छ र वैकल्पिक सैन्य विमानस्थल पनि बन्द गरिएको छ ।कुवेत विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारेर होटेलमा राखिएको छ ।

    इराकले आफ्नो एयरस्पेस बन्द गरेको छ । त्यहाँ रहेका करिब ३० हजार नेपाली सुरक्षित रहेको दूतावासले जनाएको छ ।

    ओमानमा नेपाली सुरक्षित छन् । लेबनानको दक्षिणी भेगमा आक्रमण भए पनि उत्तरी क्षेत्रमा रहेका करिब १५ सय नेपाली घरेलु कामदार सुरक्षित छन् । दक्षिण लेबनानमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत नेपाली सैनिक पनि सुरक्षित रहेको जनाइएको छ ।

    साउदीमा हज गर्न गएका ३६ नेपाली मुस्लिम धर्मावलम्बी उडान रोकिँदा अलपत्र परेका छन् । उनीहरू सुरक्षित रहेको र उडान खुलेपछि ढाका हुँदै फर्काउने तयारी रहेको जनाइएको छ । -पत्रपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images