images
images
  • निर्वाचन अवधिभर मौसम सफा रहने, वर्षा र हिमपातको छैन सम्भावना

    काठमाडौं- आगामी निर्वाचनको समयमा देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार विशेषगरी आगामी २०, २१ र २२ गतेको मौसममा कुनै ठुलो फेरबदल हुने सम्भावना छैन ।

    निर्वाचनको मुख्य दिन २१ गते देशभरकै मौसम सफा रहने र मतदान प्रक्रियामा मौसमका कारण कुनै अवरोध नहुने देखिएको छ ।

    मङ्गलवार देशका केही पहाडी भूभागमा सामान्य बादल देखिए पनि वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ ।

    विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का बादलको उपस्थिति रहे पनि अन्य स्थानमा मौसम सफा नै रहनेछ ।

    साथै वायु प्रदूषण र स्थानीय वायुका कारण केही स्थानमा तुवाँलो लागेको भए पनि यसले कुनै मौसमी जोखिम निम्त्याउने छैन ।

    निर्वाचनको भोलिपल्ट अर्थात् २२ गते पनि मौसममा केही बदली आउन सक्ने देखिएको छ ।

    यद्यपि उक्त दिन पनि भारी वर्षा वा हिमपातको कुनै पनि संकेत नदेखिएको विभागले पुष्टि गरेको छ ।

    देशभर नै वर्षा र हिमपातको सम्भावना अत्यन्तै कम रहेकाले नागरिकहरूले ढुक्क भएर निर्वाचनमा सहभागी हुन सक्ने वातावरण देखिएको छ ।

    जल तथा मौसम विज्ञान विभागले निर्वाचनलाई लक्षित गरी आगामी तीन दिनको मौसमी विवरण निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको छ ।

    निर्वाचनलाई असर गर्नेगरी कुनै पनि प्राकृतिक वा मौसमी अवरोध नआउनेमा मौसमविद्हरू विश्वस्त रहेका छन् ।

    विभागले नियमित रूपमा मौसमको अद्यावधिक जानकारी आफ्नो फेसबुक पेज र आधिकारिक वेबसाइटमार्फत पनि प्रवाह गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images