काठमाडौं- पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले १०औँ आइसिसी टी-२० विश्वकपमा कमजोर प्रदर्शनका कारण राष्ट्रिय टोलीका सबै खेलाडीलाई जरिवाना गराएको छ ।
भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा पाकिस्तान सुपर ८ को समूह ‘२’ बाट सेमिफाइनलमा पुग्न सकेन ।
६ पटक विश्वकपको सेमिफाइनल स्थान बनाइसकेको पाकिस्तानले यसपटक विश्वकप जित्ने योजना बनाएको थियो ।
खेलाडीहरूको खराब प्रदर्शनपछि पिसिबीले विश्वकप खेलेका प्रत्येक खेलाडीलाई ५० लाख पाकिस्तानी रुपैयाँ (१८ हजार अमेरिकी डलर) जारिवाना गराएको छ ।
पिसिबीले जरिवाना अनुशासनहीनताका कारण नभई प्रतियोगितामा कमजोर प्रदर्शनका कारण लगाएको जनाएको छ । ‘विश्वकपमा खेलाडीहरूले जुन प्रदर्शन गर्नुपर्ने थियो । उनीहरूले गर्न सकेनन् ।
खेलाडीहरूलाई आगामी दिनमा राम्रो प्रदर्शन गर्न निमित्त आर्थिक दण्ड लगाउने निर्णय भएको छ,’ पिसिबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले योपटक विश्वकप जित्ने लक्ष्यका साथ सहभागी भएका थियौँ ।’
विश्वकपको समूह ‘ए’मा पाकिस्तान भारतसँग ६१ रनले पराजित भएको थियो । पिसिबीले तत्कालै जरिवाना निर्णय गरेको हो । पिसिबीले सुपर ८ को नतिजासम्म आफ्नो निर्णय सार्वजनिक गरेन ।
सुपर ८ को अन्तिम खेलमा श्रीलंकालाई पाँच रनले हराए पनि रनरेटका कारण पाकिस्तान सेमिफाइनल दौडबाट बाहिरियो ।
समूह ‘२’बाट न्युजिल्यान्ड राम्रो रनरेटका कारण विश्वकपको सेमिफाइनलमा पुग्यो । यो नतिजापछि नै पिसिबीले खेलाडीलाई आर्थिक जरिवाना गराउने निर्णाय सार्वजनिक गरेको हो ।
खराब लयमा पाकिस्तान
पाकिस्तान लगातार चौथोपटक आइसिसी पुरुष प्रतियोगिताको सेमिफाइनलमा पुग्न असफल भयो । जुन उनीहरूको इतिहासमै पहिलोपटक हो ।
पाकिस्तान सुपर ८ को पहिलो खेलमा न्युजिल्यान्डसँगको सामना गरेको थियो । यो खेल वर्षाका कारण रद्द हुँदा एक अंक दुवै टोलीले पाए । त्यसपछि पाकिस्तान इंग्ल्यान्डसँग नराम्रोसँग पराजित भयो ।
श्रीलंकाविरुद्ध ठुलो अन्तरको जित आवश्यक भए पनि पाकिस्तानको जित पर्याप्त हुन सकेन । विश्व क्रिकेटमा सहभागी हुनै पनि टोलीका खेलाडीलाई अनुशासन आर्थिक कारबाही गरिएको पहिलो घटना हो ।
खेलाडीहरूको प्रदर्शनकै आधारमा सामूहिक रूपमा जरिवाना गर्नु क्रिकेट क्षेत्रमै दुर्लभ मानिएको छ । पिसिबीले आइसिसी र एसिसीका ठुला प्रतियोगितापछि कडा निर्णय लिँदै आएको छ ।
एसिया कपको फाइनलमा भारतसँग हारपछि बोर्डले खेलाडीहरूलाई विदेशी टी-२० लिग खेल्न दिइने एनओसी अस्थायी रूपमा निलम्बन गरेको थियो ।
पछि अन्तर्राष्ट्रिय र खेलाडीहरूको दबाबमा पिसिबीले निर्णय फिर्ता लियो । व्यक्तिगत प्रदर्शनका रूपमा साहिबजादा फरहानले टी–२० विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान राखेका छन् ।
उनले एउटै संस्करणमा दुई शतक प्रहार गर्ने एक मात्र खेलाडी बने पनि टोलीलाई सेमिफाइनलसम्म पुर्याउन सकेनन् ।
समूह ‘ए’ खेलाडीले ६५ लाख पारिश्रमिक
पिसिबीले राष्ट्रिय खेलाडीहरूको चार समूह वर्गीकरण गरेको छ । जसअनुसार समूह ‘ए’मा रहेका खेलाडीले प्रतिमहिना बोर्डबाट ६५ लाख पाकिस्तानी रुपैयाँ पाउँछन् ।
यसैगरी, समूह ‘बी’का खेलाडीले ४५ लाख भारु, समूह ‘सी’मा रहेका खेलाडीले २० लाख र समूह ‘डी’का खेलाडीले बोर्डबाट प्रतिमहिना १२.५० लाख पाकिस्तानी रुपैयाँ पाउँछन् ।
पिसिबीले गत जुलाई २०२५ देखि जुन २०२६ सम्म केन्द्रीय सम्झौता गरेको छ । सबै खेलाडीलाई समूह ‘ए’ मा राखेको छैन ।


विश्व खबर 



















