images
images
  • नवीकरण भन्दा माथि उठ्न सकेनन् ‘जीवन बिमा’

    काठमाडौं– नेपालको जीवन बिमा क्षेत्रले चालू आर्थिक वर्ष २०८२–८३ को माघ मसान्तसम्म उल्लेख्य विस्तार देखाएको छ ।

    तर समग्र वृद्धि मुख्यतः नवीकरण बिमाशुल्कमा आधारित देखिँदा संरचनात्मक असन्तुलन अझै कायम रहेको संकेत मिल्छ ।

    नेपाल बिमा प्राधिकरणका अनुसार सात महिनामा जीवन बिमा कम्पनीहरूले २५ अर्ब ११ करोड रुपैयाँ प्रथम बिमाशुल्क (नयाँ व्यवसाय) संकलन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा २४.७५ प्रतिशतले बढी हो ।

    तर, कुल बिमाशुल्क भने १ खर्ब ११ अर्ब रुपैयाँ नाघेको छ, जसले नयाँ व्यवसायभन्दा नवीकरणमा निर्भरता उच्च रहेको देखाउँछ ।

    कुल बिमाशुल्क र नयाँ व्यवसाय दुवैमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ ।

    कम्पनीले २९ अर्ब ५९ करोड रुपैयाँ कुल बिमाशुल्क र ६ अर्ब ७५ करोड रुपैयाँ प्रथम बिमाशुल्क संकलन गरेको छ ।

    त्यसपछि नेसनल लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

    वृद्धिदरका हिसाबले आईएमई लाइफ इन्स्योरेन्स अग्रणी देखिएको छ, जसको प्रथम बिमाशुल्क ५९.४४ प्रतिशतले बढेको छ ।

    तर हिमालयन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ व्यवसाय घटेको छ ।

    अन्यतर्फ सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्सले मध्यम स्तरको स्थिर वृद्धि देखाएका छन् ।

    भौगोलिक रूपमा बिमाको पहुँच अझै असन्तुलित छ ।

    कुल सक्रिय बिमालेखमध्ये ६० प्रतिशतभन्दा बढी बागमती प्रदेशमा केन्द्रित छन् ।

    कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा पहुँच कमजोर छ ।

    उत्पादनतर्फ सावधिक र म्यादी जीवन बिमामा आकर्षण बढेको छ ।

    विशेषगरी वैदेशिक रोजगारसँग सम्बन्धित म्यादी बिमाले धेरै कामदारलाई दायरामा ल्याएको छ ।

    लघु जीवन बिमाले ग्रामीण तथा न्यून आय वर्गसम्म पहुँच बढाए पनि प्रिमियम संकलनमा यसको योगदान सीमित देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images