काठमाडौं– एनसेल आजियाटा लिमिटेड ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ८ अर्ब १८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको जनाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा कुल ३२ अर्ब ५४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.४७ प्रतिशत (१ अर्ब ५२ करोड ३० लाख रुपैयाँ) ले कम हो ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ३४ अर्ब ६ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
यसअघि आर्थिक वर्ष २०७९/८० मा ३७ अर्ब ४४ करोड २० लाख, २०७८/७९ मा ३९ अर्ब ७२ करोड ५० लाख, २०७७/७८ मा ४० अर्ब ४० करोड ४० लाख, २०७६/७७ मा ४६ अर्ब ८७ करोड ४० लाख, २०७५/७६ मा ५५ अर्ब ३९ करोड ८० लाख, २०७४/७५ मा ५९ अर्ब ८१ करोड ७० लाख र २०७३/७४ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो ।
यस तथ्याङ्कले कम्पनीको आम्दानीमा पछिल्ला वर्षहरूमा निरन्तर गिरावट देखिएको संकेत गर्छ ।
यद्यपि आम्दानी घटे पनि नाफासम्बन्धी सूचकहरू सन्तोषजनक अवस्थामा रहेका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन नाफा मार्जिन करिब ५० प्रतिशत कायम रह्यो, जुन अघिल्लो वर्षको ५४ प्रतिशतभन्दा केही कम हो ।
यस अवधिमा जीएसएम आम्दानी बजार हिस्सा ५१ प्रतिशतमा झरेको छ (अघिल्लो वर्ष ५३ प्रतिशत) ।
भ्वाइस सेवा तथा अन्तर्राष्ट्रिय लामो दूरी (आईएलडी) कलबाट हुने आम्दानी घट्दा मार्जिनमा दबाब परे पनि लागत नियन्त्रण रणनीतिले ठूलो गिरावट हुनबाट जोगाएको कम्पनीको दाबी छ ।
गत वर्ष भ्वाइस तथा डेटा बजार हिस्सा करिब ४८ प्रतिशत रहेको बताइएको छ ।
कम्पनीका अनुसार सन् २०२५ अक्टोबर मध्यसम्म करिब १४ अर्ब रुपैयाँ नगद मौज्दात रहेको छ ।
तर हालसम्म नेपाल बाहिर पठाउन स्वीकृति नपाएको लाभांश रकम ७ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।
दूरसञ्चार क्षेत्रमा उच्च नियामकीय जोखिम, प्रविधि छिटो पुरानो हुने चुनौती, सेवा विस्तार तथा गुणस्तर सुधारका लागि आवश्यक ठूलो पुँजीगत खर्च, साथै सन् २०२९ सेप्टेम्बरमा प्रारम्भिक २५ वर्षे लाइसेन्स अवधि सकिएपछि नवीकरणबारेको अनिश्चितता कम्पनीका प्रमुख चिन्ताका विषय हुन् ।
सन् २०२५ जुलाई मध्यसम्म कम्पनीसँग करिब ८६ अर्ब रुपैयाँ बराबरका सशर्त दायित्व रहेका छन्, जसमा करिब ६७ प्रतिशत हिस्सा सन् २०१६ को स्वामित्व परिवर्तनसँग सम्बन्धित कर दाबी हो ।
कम्पनीले सोही प्रकरणसँग सम्बन्धित पुँजीगत लाभकर, जरिवाना र शुल्क गरी करिब ४७ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ ।
यी दायित्वहरू कार्यान्वयनमा आए कम्पनीको वित्तीय अवस्थामा गम्भीर असर पर्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ ।
कम्पनी सन् २००१ मा ‘स्पाइस नेपाल’ नामबाट स्थापना भएको थियो र सन् २००५ सेप्टेम्बरदेखि ‘मेरो मोबाइल’ ब्रान्डमार्फत निजी क्षेत्रको पहिलो जीएसएम सेवा प्रदायकका रूपमा सेवा सुरु गरेको थियो ।
सन् २००८ मा युरोपेली दूरसञ्चार कम्पनी TeliaSonera ले सेयर खरिद गरेपछि सन् २०१० मा ब्रान्ड नाम परिवर्तन गरी ‘एनसेल’ राखिएको थियो ।
सन् २०१६ अप्रिल १२ मा मलेसियाको Axiata Group Berhad ले वेस्ट इन्डिजमा दर्ता रहेको रेनोल्ड्स होल्डिङ लिमिटेडको १०० प्रतिशत सेयर खरिद गरेसँगै कम्पनी औपचारिक रूपमा आजियाटा समूहअन्तर्गत समावेश भएको थियो ।
रेनोल्ड्स होल्डिङमार्फत एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको छ भने बाँकी २० प्रतिशत सेयर नेपालस्थित सुनिभेरा क्यापिटल भेन्चर प्रालिको स्वामित्वमा छ ।
सन् २०२० अगस्ट ३ मा कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भएको थियो ।
सन् २०२३ डिसेम्बरमा आजियाटा समूहले रेनोल्ड्स होल्डिङमा रहेको आफ्नो १०० प्रतिशत सेयर बेलायतमा दर्ता भएको पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको घोषणा गरेको छ ।
तर, उक्त सेयर हस्तान्तरण नेपालका नियामक निकायबाट स्वीकृत हुन बाँकी रहेकाले कम्पनीको कानुनी नाम यथावत् रहेको छ ।
ऋण संरचनातर्फ हेर्दा कम्पनीले हाल २० अर्ब रुपैयाँ दीर्घकालीन र १२ अर्ब रुपैयाँ अल्पकालीन गरी कुल ३२ अर्ब रुपैयाँ ऋण लिएको छ ।
यसअघि १० अर्ब ६० करोड रुपैयाँ दीर्घकालीन र १२ अर्ब रुपैयाँ अल्पकालीन गरी २२ अर्ब ६० करोड रुपैयाँ ऋण रहेको थियो ।


विश्व खबर 



















