काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचार र पुनःस्थापनाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एन्फाले एक वक्तव्य जारी गर्दै साम्बा नेपाली फुटबलकी एक महत्वपूर्ण खेलाडी रहेको स्मरण गराउँदै देशका लागि निरन्तर समर्पित र योगदान दिँदै आएको उल्लेख गरेको छ।
खेलकै क्रममा उनको घुँडामा चोट लागेको र त्यससम्बन्धी उपचार प्रक्रिया अघि बढिरहेको एन्फाले स्पष्ट पार्दै व्यावसायिक फुटबलमा कुनै पनि खेलाडी घाइते भए उपचारको जिम्मेवारी सम्बन्धित क्लबको हुने अन्तर्राष्ट्रिय अभ्यास रहेको जनाएको छ।
हाल उनी अष्ट्रेलियाको ए-लिगअन्तर्गत व्यावसायिक क्लब वेलिङ्टन फोनिक्स एफसीबाट खेल्दै आएकी छन्।
साम्बाको हकमा पनि क्लबले न्यूजिल्यान्डमै उपचार प्रक्रिया अघि बढाएको जनाइएको छ।
यद्यपि, साम्बाले कतारमा उपचार गराउने इच्छा व्यक्त गरेपछि एन्फाले आवश्यक पहल गरिरहेको जनाएको छ।
एन्फाले कतार फुटबल संघसँग औपचारिक तथा अनौपचारिक रूपमा समन्वय गरिरहेको र अध्यक्षस्तरबाट समेत पहल भइरहेको जानकारी दिएको छ।
साथै परराष्ट्र मन्त्रालयमार्फत आवश्यक सहजीकरणका लागि पत्राचार गरिएको एन्फाले जनाएको छ।
एन्फाले साम्बाको स्वास्थ्य अवस्थाबारे निरन्तर चासो राख्दै उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।
साथै राष्ट्रिय टोलीकी कप्तानप्रति एन्फा परिवार पूर्ण रूपमा साथमा रहेको र उनलाई छिट्टै मैदानमा फर्काउने लक्ष्यका साथ आवश्यक सबै पहल भइरहेको जनाएको छ।



विश्व खबर 



















