काठमाडौं- २१ फागुनको निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउनेछन् ।
तर, उनीहरूलाई समानुपातिक प्रणालीतर्फ मात्रै यस्तो मताधिकार दिइएको छ ।
सुरक्षाकर्मी र कर्मचारी गरी निर्वाचनमा पाँच लाख ५१ हजार ८९० कर्मचारी खटिँदै छन् । निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनका लागि मुलुकभर १० हजार ९६७ निर्वाचनस्थल निर्धारण गरिएका छन् ।
जसमा २३ हजार ११२ निर्वाचन केन्द्र छन् । ती केन्द्रको व्यवस्थापन गर्न निजामतीतर्फका कर्मचारी मात्रै दुई लाख १३ हजार खटिँदै छन् । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरी तीन लाख ३८ हजार ८९० जना खटिँदै छन् ।
उनीहरूले खटिएकै निर्वाचनस्थलमा समानुपातिकतर्फ मात्रै मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार आसन्न निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्नेछन् । उनीहरूले आफू खटिएकै ठाउँमा मतदान गर्न सक्छन् । त्यसका लागि आवश्यक सबै प्रबन्ध तयार गरिएको छ ।
आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको तथ्यांक संकलन भइसकेको छ । उनीहरू खटिने निर्वाचनस्थलको विवरण र संख्या पनि निर्धारण भइसकेको छ ।
आयोगले सोहीअनुसार उनीहरूको मतदाता नामावली तयार गरेर खटिने निर्वाचनस्थलमै पठाएको छ । निर्वाचनका क्रममा निर्वाचन अधिकृतले सोही नामावली परीक्षण गरी कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिकतर्फको मतपत्र उपलब्ध गराउनेछ र सोही आधारमा उनीहरूले मतदान गर्न सक्नेछन् ।
निर्वाचनमा प्रत्यक्ष खटिनेले मात्रै होइन, अप्रत्यक्ष खटिने सरकारी कर्मचारीले कार्यक्षेत्रबाटै समानुपातिकमा मतदान गर्न पाउँछन् ।
उनीहरूका लागि आयोगले पायक पर्ने ठाउँमा अस्थायी मतदानस्थल खडा गरिदिन्छ । उनीहरूको पनि मतदाता नामावली तयारी गरेको र सोहीअनुसार स्थायी मतदानस्थल निर्धारण गरेको आयोगले जनाएको छ ।
उनीहरूको मतदाता नामावली सम्बन्धित मतदानस्थलमै पुग्नेछ । निर्वाचन अधिकृतले सोही नामावली हेरेर मतपत्र दिनेछन् र कर्मचारीले मतदान गर्न सक्नेछन् ।
विशेषगरी भिभिआइपी र भिआइपी स्थलको सुरक्षामा खटिने सुरक्षाकर्मी, सम्बन्धित सुरक्षा निकायको प्रधान कार्यालय, प्रदेश तथा जिल्ला कार्यालय, कारागार, बैंक, विमानस्थल, राष्ट्रिय निकुञ्ज, ठुला जलविद्युत् आयोजनालगायत निकायमा खटिने सुरक्षाकर्मीले यो सुविधा उपभोग गर्न सक्नेछन् ।
त्यस्तै, निर्वाचन आयोग, सिंहदरबार, प्रदेश तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले पनि तोकिएको अस्थायी निर्वाचनस्थलमा पुगेर मतदान गर्न सक्नेछन् ।
विगतझैँ यसपटक पनि कैदीबन्दीले समानुपातिकमा मतदान गर्न पाउँछन् ।
आयोगका अनुसार सम्बन्धित कारागारमै उनीहरूका लागि मतदान गर्ने व्यवस्था हुनेछ । मुलुकभरका ७४ कारागारमा हाल २५ हजार ९७३ कैदीबन्दीमध्ये करिब २५ प्रतिशतको मात्रै मतदाता नामावलीमा नाम रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
यस आधारमा ६ हजार पाँच सयजति मतदाता कारागारमा रहेको देखिन्छ । अधिकांश कैदीबन्दीमा कसैको नागरिकता नै नभएको, कतिपयले मतदाता नामावलीमा नाम दर्ता गर्न अनिच्छा देखाएको विभागले जनाएको छ ।























