images
images
  • आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री प्रशासनले हटायो

    काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचार प्रसार तीव्र बनेको छ ।

    यसै क्रममा आचारसंहिताविपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री धनुषा जिल्ला प्रशासन कार्यालयले हटाएको छ ।

    कार्यालयले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले जथाभावी टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको हो ।

    प्रशासनका अनुसार सार्वजनिकस्थल, विद्युत्का पोल, सरकारी भवन तथा सडक छेउछाउमा आचारसंहिताविपरीत टाँसिएका सामग्री हटाइएको छ ।

    निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री स्वयं हटाउन निर्देशन दिएको थियो ।

    तर तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैँ खटेर प्रचार सामग्री हटाएको हो ।

    फेरी यस्ता सामग्री टाँसे कानुनी कारबाही गरिने प्रशासनले चेतावनीसमेत दिएको छ ।

    विशेषगरी मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ता र सरकारी संरचनामा आचारसंहिताविपरीत सामग्री टाँसिएको भेटिएको थियो ।

    निर्वाचन व्यवस्थापनलाई व्यवस्थित बनाउन र सहरलाई सफा राख्न प्रशासनले निगरानी बढाएको जनाएको छ । स्थानीय तह, प्रहरी र सरोकारवाला निकायको समन्वयमा अनुगमन जारी रहेको प्रशासनले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images