विराटनगर-सुनसरीको भोक्राहा नरसिङ गाउँपालिकामा चुनावी कार्यक्रमका क्रममा दुई पक्षबीच विवादपछि झडप भएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच विवादपछि झडप भएको हो ।
उनीहरूबीच झडपकै अवस्था आएको थियो । अहिले भने अवस्था सामान्य भैसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार घटनास्थलमा प्रहरी पुगेर भीडलाई शान्त बनाएको हो । कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्ला फैलिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए। कांग्रेसको कार्यक्रममा जाने क्रममा सामान्य भनाभनपछि झडप भएको छ। भोक्राहामा भएको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेका कांग्रेसका कार्यकर्तालाई रास्वपाका कार्यकर्ताले गाली गर्न थालेपछि झडप भएको हो।
सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेस का नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएपछि झडपको स्थिति आएको थियो । उनीहरूबीच सामान्य भनाभन र हात हालाहालपछि पछि झडप भएको थियो ।
झडपको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ। कांग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले बताए। प्रहरीले दुवै पक्षलाई सम्झाई–बुझाई गरेपछि अहिले त्यहाँको अवस्था सामान्य बनेको डीएसपी खड्काले जानकारी दिए।























