images
images
  • चुनावमा सुरक्षा चुनौती बन्न सक्ने भन्दै सरकारले थाल्यो देशैभरिका निजी हतियार संकलन

    काठमाडौं– गृह मन्त्रालयको परिपत्रपछि देशभरका जिल्ला प्रशासन कार्यालयहरूले इजाजतप्राप्त निजी हातहतियार सङ्कलन सुरु गरेका छन्। मन्त्रालयका अनुसार आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले यो कदम चालिएको हो।

    देशभर कति सङ्ख्यामा निजी हातहतियार छन् भन्नेबारे भने अधिकारीहरूले स्पष्ट तथ्याङ्क दिएका छैनन्। “अहिले देशभर सङ्कलन भइरहेको छ। सबै ठाउँबाट प्रक्रिया सकिएपछि मात्र सङ्ख्याबारे भन्न सकिन्छ,” गृह मन्त्रालयकी सूचना अधिकारी रमा आचार्य सुवेदीले बीबीसी न्यूज नेपालीसँग बताइन्।

    करिब दुई वर्षअघि गृह मन्त्रालयका अधिकारीहरूले बीबीसीलाई दिएको जानकारीअनुसार देशभर ३० हजारभन्दा बढी हातहतियार राख्न इजाजत दिइएको थियो। यद्यपि विगतका निर्वाचनहरूमा सबै इजाजतप्राप्त हतियार पूर्ण रूपमा बुझाइएको प्रमाणित तथ्याङ्क उपलब्ध नभएको स्रोतहरू बताउँछन्।

    कसरी भइरहेको छ सङ्कलन?

    गृह मन्त्रालयको परिपत्रपछि जिल्ला प्रशासन कार्यालयहरूले सूचना जारी गरी हतियार बुझाउन आह्वान गरेका छन्। कतिपय जिल्लामा तोकिएको म्याद सकिएपछि पनि हतियार बुझ्ने कार्य जारी छ भने केही स्थानमा म्याद थपिएको छ।

    बैतडीका प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लामा रहेका १,०८६ इजाजतप्राप्त हतियारमध्ये हालसम्म ४०७ वटा सङ्कलन भइसकेका छन्। “१५ दिनको म्यादभित्र सबै नआएपछि म्याद थपेर सङ्कलन गरिरहेका छौँ,” उनले बताए। नबुझाएका व्यक्तिका घरसम्म प्रहरी परिचालन गरेर हतियार बुझाउन आग्रह गरिएको पनि उनले जानकारी दिए।

    थापाका अनुसार धेरैले लाइसन्स नवीकरण नगरेको पाइएकाले सङ्कलनपछि नवीकरण प्रक्रिया पूरा गरेपछि मात्र हतियार फिर्ता गरिनेछ। कानुनी प्रावधानअनुसार पाँच वर्षसम्म नवीकरण नगरेमा हतियार जफत र इजाजतपत्र रद्द गर्न सकिन्छ।

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि तोकिएको समय सकिएपछि समेत हतियार बुझाउन आउने व्यक्तिहरूबाट सङ्कलन जारी राखिएको बताए।

    नयाँ लाइसन्स रोकिएको

    अधिकारीहरूका अनुसार करिब दुई वर्षदेखि निजी हातहतियारका लागि नयाँ लाइसन्स वितरण रोकिएको छ। विसं २०८० चैत ५ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँका एक सुरक्षागार्डलाई हतियारसहित सर्वोच्च अदालत परिसरमा पक्राउ गरिएको घटनापछि यस्तो कडाइ गरिएको बताइन्छ। मन्त्रालयका एक अधिकारीका अनुसार त्यसयता लाइसन्स लिन आउनेहरूलाई हाल इजाजत नदिने जानकारी दिइँदै आएको छ।

    नेपालमा हातहतियार सम्बन्धी व्यवस्था हातहतियार खरखजाना ऐन, २०१९, हातहतियार खरखजाना नियमावली, २०२८ र मुलुक फौजदारी कार्यविधि संहिता, २०७४ ले निर्देशित गर्छन्। यी कानुनअन्तर्गत निजी हातहतियार राख्न निश्चित प्रक्रिया अपनाउनुपर्छ।

    इजाजत कसरी पाइन्छ?

    निजी हतियार राख्न चाहने व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्छ। त्यसपछि सुरक्षा समितिमार्फत आवेदकको पृष्ठभूमि, छरछिमेक र स्वास्थ्य अवस्थाबारे अध्ययन गरिन्छ। समितिले उपयुक्त ठहर गरेपछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सिफारिस पठाउँछ।

    मन्त्रालयको स्वीकृतिपछि वाणिज्य विभागमार्फत आयात अनुमति दिइन्छ। आयात गरिएको हतियार विमानस्थल भन्सारबाट सम्बन्धित कार्यालयमा पठाइन्छ र अन्तिम रूपमा इजाजतपत्र जारी भएपछि मात्रै सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइन्छ।

    हालको व्यवस्थाअनुसार इजाजतप्राप्त हतियार प्रत्येक दुई वर्षमा नवीकरण गर्नुपर्छ। बिक्री वा स्थानान्तरणका लागि पनि छुट्टै अनुमति आवश्यक पर्छ। सामान्यतया अनुमति लिएको जिल्लाभित्र मात्र बोक्न पाइन्छ, तर प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा अन्य जिल्लामा लैजान सकिन्छ।

    नियमावलीअनुसार १२, १६, २० र ४१० बोरका शर्ट गन, भरुवा बन्दुक, हावादारी बन्दुक र २२ बोर राइफलजस्ता हतियार सुरक्षा वा सिकारका लागि राख्न पाइन्छ। पिस्तोल वा रिभल्भरजस्ता हतियारका लागि भने इजाजतपत्र नदिने व्यवस्था छ।

    ‘खतरा देखिएको छैन’

    अधिकारीहरूका अनुसार इजाजतप्राप्त निजी हतियारबाट हालसम्म ठोस सुरक्षा खतरा देखिएको छैन। भूतपूर्व अतिरिक्त प्रहरी महानिरीक्षक सुरेन्द्रबहादुर शाहका अनुसार निर्वाचन वा अन्य समयमा यस्ता हतियारबाट ठूलो जोखिम देखिएको तथ्य छैन, यद्यपि विगतमा कतिपय व्यक्तिले डर देखाउन वा धम्क्याउन प्रयोग गरेको घटना भने भेटिएका थिए।

    उनका अनुसार माओवादी सशस्त्र द्वन्द्वअघि निजी हतियारका लागि लाइसन्स लिने चलन तुलनात्मक रूपमा बढी थियो। द्वन्द्वकालमा भने हतियार लुटिने डरका कारण यस्तो अभ्यास घटेको देखिन्छ। केही व्यक्तिले सोख वा व्यक्तिगत सुरक्षाका लागि पनि हतियार राख्ने गरेको बताइन्छ। –बीबीसी नेपाली

    प्रतिक्रिया दिनुहोस्
    images
    images