images
images
  • फागुन २१ को निर्वाचनमा नेकपाको प्रत्यक्षमा सिट र समानुपातिकतर्फ भोट बढ्ने विश्लेषण

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिट संख्या बढ्ने आन्तरिक निष्कर्ष निकालेको छ ।

    पार्टीले देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ र प्रदेश तथा जिल्ला तहबाट संकलित चुनावी प्रतिवेदनलाई केन्द्रीय प्रचार समितिले पुनःप्रमाणीकरण गरेको जनाएको छ ।

    प्रचार समिति संयोजक अग्नि सापकोटाका अनुसार जिल्लाबाट प्राप्त रिपोर्टले प्रत्यक्षतर्फ ५६ सिट जित्ने र थप ६६ क्षेत्रमा कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ ।

    उनका अनुसार समानुपातिकतर्फ पार्टीले २० लाखभन्दा बढी मत प्राप्त गर्ने प्रारम्भिक आकलन छ ।

    पार्टी नेतृत्वले सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशमा उल्लेख्य सुधार हुने दाबी गरेको छ ।

    सापकोटाका अनुसार सरकार छोडेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशव्यापी कार्यक्रममा सक्रिय भएपछि पार्टी पक्षमा माहोल बनेको छ ।

    २०७९ सालको निर्वाचनमा पाँच दलीय गठबन्धनका कारण माओवादी केन्द्रले ४७ क्षेत्रमा मात्र उम्मेदवारी दिएको थियो ।

    त्यसबेला प्रत्यक्षतर्फ १८ सिट जित्दै समानुपातिकमा ११ लाख ७२ हजार मत प्राप्त गरेको थियो ।

    यसपटक भने नेकपा नेतृत्वले संगठनात्मक एकताका कारण मत आधार विस्तार हुने अपेक्षा गरेको छ ।

    माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी तथा जनता समाजवादी पार्टीका केही नेतासँगको सहकार्यले समानुपातिक मतमा वृद्धि हुने दाबी गरिएको छ ।

    यद्यपि पार्टीभित्रको असन्तुष्टि र केही जिल्लामा स्वतन्त्र उम्मेदवार उठेका कारण सिन्धुली, दाङ र तराईका केही क्षेत्रमा प्रभाव पर्ने आन्तरिक मूल्यांकन छ ।

    मधेस प्रदेशमा अपेक्षाअनुसार मत नआउन सक्ने संकेत पनि रिपोर्टमा उल्लेख छ ।

    प्रदेशगत विश्लेषणअनुसार सुदूरपश्चिमका १६ मध्ये १४ क्षेत्रमा उम्मेदवारी दिएको नेकपाले ५ देखि ७ सिट जित्ने दाबी गरेको छ ।

    कर्णालीमा सबैभन्दा राम्रो नतिजा आउने अपेक्षा गर्दै ७ सिट जित्ने प्रारम्भिक आकलन गरिएको छ ।

    लुम्बिनीमा रुकुम पूर्व, रोल्पा, बर्दिया र कपिलवस्तुका केही क्षेत्रमा जित सुनिश्चित भएको दाबी छ भने गण्डकीमा गोरखा र बागलुङका केही क्षेत्रमा बलियो उपस्थिति रहने बताइएको छ ।

    बागमतीमा काठमाडौं, सिन्धुपाल्चोक, धादिङ, चितवन, काभ्रे, दोलखा र रामेछापका केही क्षेत्र जित्ने सूचीमा राखिएको छ ।

    मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये कम्तीमा ६ सिट जित्ने आकलन गरिएको छ भने कोसी प्रदेशमा ४ सिट जित्ने र ४ क्षेत्रमा कडा प्रतिस्पर्धा हुने उल्लेख छ ।

    यद्यपि प्रचार समिति संयोजक सापकोटाले ५६ सिट जित्ने दाबी गरे पनि प्रदेशगत विश्लेषणमा हालसम्म ३७ क्षेत्रमा मात्र स्पष्ट जितको निष्कर्ष देखिएको छ ।

    पार्टीका नेताहरूले यो आन्तरिक मूल्यांकन मात्र भएको र अन्तिम परिणाम निर्वाचनपछि स्पष्ट हुने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images