काठमाडौं– नेपालका तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकै दिन आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना, सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा, उच्च तहका पदाधिकारीको सम्पत्ति छानबिन, कार्यकाल सीमितीकरण, भ्रष्टाचारविरुद्ध कडा कानुनी व्यवस्था र सुशासन केन्द्र स्थापना जस्ता प्रतिबद्धता अघि सारेको छ ।
उसले कर प्रणाली स्थिरता, युवा उद्यमीलाई सहुलियत कर्जा, १४ हजार मेगावाट विद्युत् उत्पादन, पाँच वर्षभित्र सबै खेतीयोग्य जमिनमा सिँचाइ र संविधान संशोधनमार्फत संस्थागत सुधारको एजेन्डा पनि समेटेको छ ।
एमालेले ‘समृद्ध नेपाल–सुखी नेपाली’ नारासहित एक दशकभित्र देशलाई समुन्नत बनाउने लक्ष्य राखेको छ ।
युवालाई मासिक १० जिबी निःशुल्क डाटा, सुत्केरीलाई २५ हजार भत्ता, विद्यार्थीलाई निर्ब्याजी ऋण, श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार, पाँच वर्षमा पर्यटक आगमन दोब्बर, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण र १०० खर्बको अर्थतन्त्र बनाउने लक्ष्य घोषणापत्रमा उल्लेख छ ।
रास्वपाले ०४६ यताका सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद्, दलगत ट्रेड युनियन खारेज, भ्रष्टाचार शून्य, पाँच लाख रोजगारी सिर्जना र ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य अघि सारेको छ ।
उसले संवैधानिक निकाय सुधार, डिजिटल प्रशासन, जलन अस्पताल स्थापना, घर कर्जामा कर छुट र सातै प्रदेशमा डिजिटल पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।























