images
images
  • ललितपुर–१ : कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा, २८ उम्मेदवार मैदानमा

    ललितपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका सहमहामन्त्री उदयशमशेर राणा र एमाले उम्मेदवार चेतनाथ सन्जेलबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राणा परिवारबाट आठौं पटक उम्मेदवार बनेका राणाले २०४६ सालको परिवर्तनपछि ४ पटक चुनाव जितिसकेका छन्। यसपटक पाँचौं जितको लागि एमालेले  सन्जेललाई मैदानमा उतारेको हो।

    ललितपुर–१ मा कुल १६ राजनीतिक दल र १२ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। प्रमुख उम्मेदवारमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति बुद्धरत्न महर्जन, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुनिल महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सजिना कार्की, र नेकपा माओवादी का विपिन घिमिरे रहेका छन्।

    उदयशमशेर राणाको पाँचौं उम्मेदवारी हो। उनको परिवारका सदस्यले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ र २०८२ सालमा यस क्षेत्रमा चुनाव लडेका थिए। उनी २०७० र २०७९ सालमा विजयी भएका थिए भने २०६४ र २०७४ मा पराजित भएका थिए। बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको पहिलो २०४८ सालको चुनावमा उनका पिता सागरशमशेर राणा उम्मेदवार थिए।

    २०४८ सालको निर्वाचनमा एमालेका मिठाराम शर्मा बजगाईंले १२,४१६ मत प्राप्त गरी विजयी भए, राणा ७,३५९ मतसहित तेस्रो भए। २०५१ र २०५६ मा पनि कांग्रेसका उम्मेदवार सागरशमशेर राणा पराजित भए। २०६४ को संविधानसभा निर्वाचनमा नेकपा माओवादीका वर्षमान पुनले १५,३२९ मत ल्याए, राणा १४,०११ मतसहित दोस्रो भए। २०७० को निर्वाचनमा उदयशमशेरले एमालेका मधुसूदन पौडेल र एनेकपा माओवादीका हरि दाहाललाई पराजित गर्दै चुनाव जिते।

    २०७४ को चुनावमा बाम गठबन्धनको तर्फबाट नवराज सिलवाल विजयी भए भने २०७९ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उदयशमशेरले पुनः चुनाव जिते। उनी नेपाली कांग्रेसभित्रको रूपान्तरण र गगन थापासँगको विद्रोही मोर्चाको नेतृत्व गर्दै पार्टीमा आफ्नो प्रभाव स्थापित भएका छन्।

    यसपटक पनि ललितपुर–१ मा एमाले, रास्वपा, नेकपा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टी (उनेपा), पिपुल्स फस्ट पार्टी, र विप्लव नेतृत्वको नेकपा माओवादी लगायतका पार्टीहरूले आफ्ना उम्मेदवार र प्रचार प्रसार गरिरहेका छन्।

    नेकपा माओवादी बाट भीमसेन घिमिरे ‘विपिन’, राप्रपा बाट सजिना कार्की, रास्वपा बाट बुद्धरत्न महर्जन, उनेपा बाट पदमकुमार लामा, पिपुल्स फस्ट पार्टी बाट सनोज महत लगायतका उम्मेदवारले समुदाय र स्थानीय एजेन्डालाई आधार बनाएर चुनावी गतिविधि तीव्र बनाएका छन्।

    त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी संयुक्त बाट अमृतनाथ बजगाईं, जनता समाजवादी पार्टी बाट महावीर स्याङ्तान तामाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सरिता गोसाईं देसार, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का रोहितकुमार बाँस्तोला, मंगोल नेसनल अर्गनाइजेशन बाट सुरेश मार्पा, नेसनल रिपब्लिक नेपाल बाट सञ्जय घिसिङ तामाङ, श्रम संस्कृति पार्टी बाट गौतम थापा, र आम जनता पार्टी बाट किरण महर्जनले पनि प्रचार गरिरहेका छन्।

    यस क्षेत्रको चुनावी मैदानमा दुई महिलासहित कुल २८ जना उम्मेदवार छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images