काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आमनिर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र सार्वजनिक गरेको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा आयोजित सभामा पार्टीका नेताहरुले वाचापत्र अनावरण गरेका हुन् ।
पार्टीका उपसभापति तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले वाचापत्रका मुख्य अंश प्रस्तुत गर्दै भने, ‘हामीले अर्थतन्त्रका रोग निदान गरी देशको नीतिगत दिशा तय गरेका छौं । दलमुक्त राज्य, अनलाइन सरकारी सेवा, र नागरिकको भरोसा बढाउने कार्यक्रम यसमा समावेश छन् ।’
वाग्लेले दशकौँदेखि थामिएका आर्थिक सुधार अघि बढाइने, विकासमा बाधक ऐन र नियमावली खारेज गरिने, निजी क्षेत्रलाई साझेदार बनाइ करभार घटाइने र प्रक्रियामा पारदर्शिता ल्याइने बताए ।
पार्टीले आगामी १० वर्षभित्र मध्यम आय भएको मुलुक बनाउने लक्ष्य राखेको छ । वाचापत्रअनुसार वार्षिक ५ प्रतिशत स्थिर आर्थिक वृद्धि कायम राखेर ५–७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने र अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने योजना छ ।























