images
images
  • रास्वपा बागमती, मधेश र प्रनेस अमेरिकाका संस्थापकले त्यागे पार्टी, चुनावमा धक्का पुग्ने निश्चित

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक रूपमा चुनावी लहरको दाबी गरिरहे पनि पछिल्ला दिनहरूमा पार्टी परित्याग गर्ने नेताहरूको संख्या बढ्दै गएको देखिएको छ ।

    पार्टी निर्माणमा सुरुवातदेखि सक्रिय संस्थापक समूह र पछिल्लो समय जोडिएका नयाँ सदस्यबीच बढ्दो अन्तरविरोध चुलिँदै जाँदा केही प्रमुख व्यक्तिहरू बाहिरिएका हुन् ।

    बुधबार मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले संगठनमा आफ्नो योगदानको उचित मूल्यांकन नभएको र आर्थिक अनियमितताले निर्णय प्रक्रियालाई प्रभावित पारेको आरोप लगाउँदै पार्टी छाडेको घोषणा गरिन् ।

    यसैगरी, २०७९ को निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी काठमाडौंकी खेमकुमारी (उर्मिला) भुर्तेलले पनि आर्थिक अपारदर्शिताका कारण आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुगेको उल्लेख गर्दै पार्टी परित्याग गरेकी छन् ।

    यसअघि डा. प्रणय शमशेर राणाले पनि पार्टी विधानको पालनामा कमजोरी र आर्थिक अपारदर्शिताको विषय उठाउँदै अलग हुने निर्णय लिएका थिए ।

    प्रवास नेपाली सम्पर्क समिति अमेरिकाका संस्थापक डिल्ली पौडेल, संस्थापक नेता सन्तोष परियार तथा सुमना श्रेष्ठले समेत पार्टी छाडिसकेका छन् ।

    परियार हाल प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्मा जिम्मेवारी सम्हालिरहेका छन् ।

    यता बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

    उनले महामन्त्रीलाई पत्र बुझाउँदै उम्मेदवार छनोटमा आर्थिक चलखेल, केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता तथा सदस्यता र आर्थिक व्यवस्थापनमा स्पष्टता नदेखिएको आरोप लगाएका छन् ।

    २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ बाट उम्मेदवार बनेका हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरेका थिए ।

    पछिल्लो समय उम्मेदवार चयन प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै रास्वपा छाड्ने क्रम बढ्दो देखिएको छ ।

    बुधबार मात्रै मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्मा र नेतृ खेमकुमारी (उर्मिला) भुर्तेलले पार्टी त्याग गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images