काठमाडौं– रूस र युक्रेनले जेनेभामा अमेरिकी मध्यस्थतामा भएको वार्तामा केही प्रगति भएको तर भू–भागको मुख्य मुद्दामा कुनै सम्झौता नगरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बताएका छन् ।
संयुक्त राज्य अमेरिकाले लगभग चार वर्षको युद्धको अन्त्यका लागि जोड दिइरहेको छ, जसले दशौँ हजारको ज्यान लिएको छ र पूर्वी र दक्षिणी युक्रेनको धेरै भाग नष्ट गरेको छ, तर मस्को र किएभबीच युद्धपछिको सम्झौतामा कसले कुन जमिन पाउँछ भन्ने विषयमा विवाद छ ।
रूसले कुनै पनि सम्झौताको एक भागको रूपमा युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा पूर्ण नियन्त्रणको लागि जोड दिइरहेको छ र यदि किएभ वार्ताको टेबलमा नआएमा बलपूर्वक लिने चेतावनी दिएको छ ।
राजनीतिक र सैन्य रूपमा कमजोर युक्रेनले यो मागलाई अस्वीकार गरेको छ । रूसलाई फेरि आक्रमण गर्नबाट रोक्ने सुरक्षा सुनिश्चितता बिना सम्झौतामा हस्ताक्षर नगर्ने संकेत युक्रेनले गरेको छ ।
‘हामी देख्न सक्छौँ, केही आधारभूत काम भएको छ, तर अहिले नै सम्झौतामा पुग्ने कु्रा सजिलो छैन,’ राष्ट्रपति जेलेन्स्कीले वार्ता सकिएपछि एएफपी लगायतका पत्रकारहरूलाई दिएको जानकारी मा उल्लेख छ ।
उनले भने, ‘अमेरिकाको मध्यस्थतामा दुवै पक्ष युद्धविराम अनुगमन संयन्त्रसँग सम्बन्धित ‘लगभग सबै मुद्दाहरू’ मा सहमत भएका छन् । यद्यपि, युक्रेनको पूर्वी क्षेत्रमा कब्जा गरिएको क्षेत्रको भविष्य र रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको भविष्यको स्थितिसँग सम्बन्धित संवेदनशील मुद्दाहरू समाधान हुन बाँकी रहेका छन् ।’
रूसी प्रतिनिधिमण्डलका प्रमुखले वार्ता ‘कठिन’ भएको र भविष्यका लागि थप वार्ताको योजना बनाइएको बताउनुभएको छ ।
रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि पूर्ण रूपमा आक्रमण सुरु गरेको थियो ।
यस द्वन्द्वको परिणामस्वरूप युक्रेनले व्यापक रूपमा आफ्ना उर्जा क्षेत्र लगायतका भौतिक संरचनालाई गुमाएको छ भने हजारौँ नागरिकको मृत्यु भएको छ र लाखौँ मानिसहरू आफ्नो घर छोडेर भाग्न बाध्य भएका छन् ।


विश्व खबर 




















