images
images
  • विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्र सिंह ऐरी चौथो स्थानमा उक्लिए

    काठमाडौं- नेपाली क्रिकेटका पावर हिटर दीपेन्द्र सिंह ऐरीले विश्व क्रिकेटको मञ्चमा फेरि एकपटक आफ्नो बलियो उपस्थिति प्रमाणित गरेका छन्।

    आईसीसीले सार्वजनिक गरेको पुरुष टी-२० अलराउन्डरतर्फको नयाँ वरियतामा दीपेन्द्र दुई स्थान सुधार गर्दै विश्वको चौथो नम्बरमा उक्लिएका छन्।

    नेपाली क्रिकेट इतिहासमा कुनै पनि खेलाडीले हात पारेको यो अहिलेसम्मकै उच्च वरियता हो।

    विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डविरुद्धको सानदार प्रदर्शन नै दीपेन्द्रलाई वरियताको शिखर उन्मुख गराउने माध्यम बन्यो।

    मुम्बईको वानखेडे स्टेडियममा मंगलबार दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै नटआउट ५० रन जोडेपछि नेपालले स्कटल्यान्डमाथि ७ विकेटको ऐतिहासिक जित दर्ता गरेको थियो।

    जारी विश्वकपमा दीपेन्द्रको त्यो लगातार दोस्रो अर्धशतक थियो। यसअघि उनले वेस्ट इन्डिजविरुद्ध पनि सानदार ब्याटिङ गरेका थिए।

    अहिले दीपेन्द्रभन्दा अगाडि विश्व क्रिकेटका तीन हस्ती मात्र छन्। वरियताको शीर्ष स्थानमा पाकिस्तानका सइम अयुब छन्, जो आफ्नो विष्फोटक ब्याटिङका लागि चिनिन्छन्। दोस्रो स्थानमा जिम्बाब्वेका अनुभवी सिकन्दर रजा र तेस्रो स्थानमा भारतीय टोलीका खम्बा मानिने हार्दिक पाण्ड्या छन्।

    दीपेन्द्रले यो छलाङ मार्ने क्रममा इंग्ल्यान्डका साम करन, अस्ट्रेलियाका मार्कस स्टोइनिस र अफगानिस्तानका अजमतुल्लाह ओमारजाइ जस्ता ‘ग्लोबल स्टार’ हरूलाई पछि पारेका छन्।

    दीपेन्द्रको यो सफलताले नेपाली क्रिकेटको बढ्दो ग्राफलाई मात्र देखाएको छैन, विश्व क्रिकेटका दिग्गजहरू माझ नेपालका ‘द टाइगर’ को डर र सम्मान दुवै बढाएको छ।

    depindra ranking

    प्रतिक्रिया दिनुहोस्
    images
    images