काठमाडौं– असार २०८१ मा नेपाली कांग्रेस र नेकपा (एमाले)ले संयुक्त रूपमा सरकार गठन गर्दा मुख्य प्रतिबद्धता संविधान संशोधन थियो ।
संघीय संसद्मा संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक पर्ने भएकाले पहिलो र दोस्रो ठूलो दलको गठबन्धनलाई त्यसैको औचित्यका रूपमा प्रस्तुत गरिएको थियो ।
तर सरकार गठनपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा राष्ट्रिय सभाको गणित अनुकूल नभएकाले २०८७ सालअघि संशोधन प्रस्ताव अघि नबढ्ने संकेत दिए ।
यसबीच संविधान संशोधनको मुद्दा सार्वजनिक रूपमा जीवित रहे पनि व्यवहारमा ओझेलमा पर्न थाल्यो ।
यही पृष्ठभूमिमा २३–२४ भदौमा भएको जेनजी आन्दोलनले ओली नेतृत्वको सरकार ढल्यो ।
आन्दोलनका क्रममा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था जस्ता संवैधानिक बहस सडकमा उठे पनि औपचारिक राजनीतिक एजेन्डाका रूपमा संस्थागत हुन सकेनन् ।
आन्दोलनपछि बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनमा निर्वाचन घोषणा गर्यो ।
मतदान मिति नजिकिँदै गर्दा पनि संविधान संशोधन चुनावी मुद्दा बन्न सकेको छैन ।
संवैधानिक कानुनका ज्ञाता वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य भन्छन्, दलहरूले संशोधनका विषयलाई घोषणापत्रमार्फत जनताबाट अनुमोदन गराउनुपर्ने हो तर त्यसो हुन सकेको छैन ।
राजनीतिक दलहरूले विगतमा निर्वाचन प्रणाली, शासकीय ढाँचा, राज्य स्रोतको बाँडफाँट र संवैधानिक आयोगको पुनर्संरचनाजस्ता विषयमा संशोधन बहस उठाउँदै आए पनि अहिले ती विषय चुनावी प्राथमिकतामा देखिँदैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नेपाललाई संवैधानिक हिन्दु अधिराज्य बनाउने तथा एकात्मक राज्य प्रणालीमा फर्किने माग दोहोर्याउँदै आएको छ ।
त्यसविपरीत कांग्रेस र एमाले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको पक्षमा एकमत देखिन्छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी भित्र संघीय संरचनाबारे पहिले अस्पष्टता देखिए पनि दलका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले प्रदेशलाई थप अधिकार सम्पन्न बनाउने धारणा सार्वजनिक गरिसकेका छन् ।
उनको भनाइमा काठमाडौं अधिकार माग्न होइन, भ्रमण र दर्शनका लागि मात्र पुग्ने व्यवस्था हुनुपर्छ ।
यतिबेला चुनावी अभियान सुशासनको नारामा केन्द्रित देखिए पनि संविधान संशोधनजस्तो संरचनागत विषय व्यक्तित्वको टकराव, आरोप–प्रत्यारोप र गालीगलौजमा हराइरहेको छ ।
संविधान संशोधनलाई निर्वाचनमार्फत अनुमोदन गराउनु उन्नत लोकतान्त्रिक अभ्यास भएको धारणा एमाले नेता तथा पूर्वकानुनमन्त्री अग्निप्रसाद खरेल को छ ।
उनी संविधानलाई जीवित र सान्दर्भिक राख्न समय–समयमा संशोधन आवश्यक पर्ने बताउँछन् ।
तर मनोनयन दर्तापछि प्रमुख दलहरूले अझैसम्म स्पष्ट घोषणापत्र सार्वजनिक गरेका छैनन् ।
नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र जनता समाजवादी पार्टी ले मात्र घोषणापत्र सार्वजनिक गरेका छन् ।
कांग्रेस सभापति गगनकुमार थापाले सुशासन केवल निर्वाचनबाट सम्भव नहुने भन्दै संरचनागत सुधारका लागि न्यूनतम राष्ट्रिय सहमति आवश्यक पर्ने बताएका छन् ।
उता कांग्रेस प्रवक्ता देवराज चालिसे भने संविधान र कानुनसँग जोडिएका विषयमा पार्टीले नेतृत्व लिने र घोषणापत्रमा ती विषय समेटिने दाबी गर्छन् ।
यसरी संविधान संशोधनको बहस औपचारिक रूपमा जीवित भए पनि चुनावी मैदानमा भने ‘तैँ चुप मै चुप’ को अवस्था देखिएको छ ।























