काठमाडौं– संयुक्त राज्य अमेरिकाले सन् २०२० मा चीनले गोप्य रूपमा अवैध आणविक परीक्षण गरेको हुनसक्ने नयाँ गुप्तचर सूचना सार्वजनिक गरेको छ ।
काजाकिस्तानस्थित एक भूकम्प मापन केन्द्रले २२ जुन २०२० मा २.७५ म्याग्निच्युडको सानो धक्का रेकर्ड गरेको थियो, जसको स्रोत चीनको ‘लोप नुर’ आणविक परीक्षणस्थल नजिक रहेको दाबी गरिएको छ ।
यो दाबी अमेरिकी विदेश मन्त्रालयका अधिकारी क्रिस्टोफर यिउले वासिङ्टन डीसीमा Hudson Instituteको कार्यक्रममा गरेका हुन् ।
तर नर्वेको भूकम्पीय संस्था NORSAR का विज्ञहरूले संकेत कमजोर भएकाले प्राकृतिक घटना पनि हुनसक्ने बताएका छन् ।
व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि संगठनले पनि सीमित तथ्यांकका आधारमा निष्कर्ष निकाल्न नसकिने जनाएको छ ।
चिनियाँ सरकारले आरोप अस्वीकार गर्दै अमेरिकाले आफ्नै परीक्षण पुनः सुरु गर्न बहाना बनाइरहेको बताएको छ ।
दशकौँदेखि प्रमुख शक्ति राष्ट्रहरूले प्रत्यक्ष आणविक परीक्षण नगरे पनि चीनको परीक्षणस्थलमा गतिविधि बढेको Carnegie Endowment for International Peace का अनुसन्धानकर्ताहरूको दाबी छ ।
अमेरिका चीनले भविष्यमा कम क्षमताका वा नयाँ प्रविधिका आणविक हतियार विकासका लागि गोप्य परीक्षण गरिरहेको हुनसक्ने आशंकामा छ ।


विश्व खबर 




















