images
images
  • को हुन् चुनाव जितेपनि संसद् छिर्न नपाउने तीन नेता ?

    काठमाडौं- पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र टेकबहादुर गुरुङ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन जितेपनि संसद् छिर्न नपाउने भएका छन् ।

    माधवकुमार नेपाल
    नेपालले रौतहट निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् । चुनावी प्रचारमा रहेका नेपाललाई अदालतको तारिखसमेत हेरिरहनु परेको छ ।

    पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

    मंगलबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा यो मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो । तर अन्तिममा ‘हेर्न नभ्याउने’मा पर्‍यो ।

    माधव नेपाल विघटित प्रतिनिधिसभा सदस्य थिए । यही मुद्दा लागेसँगै निलम्बनमा परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा माधव नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ ।

    यो मुद्दा नटुंगिएसम्म नेपालले चुनाव जिते पनि सांसद्को हैसियतमा काम गर्न पाउने छैनन् ।

    रवि लामिछान
    नेपाल जस्तै चुनाव जितेपनि सांसद्को हैसियतमा काम गर्न नपाउने अर्का उम्मेदवार हुन् रवि लामिछाने । लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

    तर लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा विभिन्न अदालतमा मुद्दा विचाराधीन छ ।

    लामिछाने पनि विघटित प्रतिनिधिसभा सदस्य थिए । दुई पटकसम्म उपप्रधन तथा गृहमन्त्री भए । तर सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा दायर भएसँगै सांसद पदबाट निलम्बनमा परेका थिए । उनीविरुद्धको उक्त अभियोग कायमै छ ।

    लामिछानेलाई सरकारले सहज हुने गरी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताको प्रक्रियासमेत अगाडि बढाएको छ ।

    महान्यायाधिवक्ताले गत पुस ३० गते संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएपछि त्यसअनुसार जिल्ला अदालतमा मुद्दा संशोधनको प्रक्रिया अगाडि बढेको छ ।

    तर महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परिसकेको छ भने जिल्ला अदालतले समेत मुद्दा संशोधनका लागि सरकारी वकिलको कार्यालयले दिएको निवेदन स्वीकार गरेको छैन । यथास्थितिमा लामिछानेले चुनाव जिते पनि सांसदको रुपमा काम गर्न भने पाउने छैनन् ।

    लामिछाने अहिले पनि अदालतको तारिख धाइरहेका छन् । चु

    टेकबहादुर गुरुङ
    मनाङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार टेकबहादुर गुरुङ पनि भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् ।

    काठमाडौंको भृकुटीमण्डपस्थित समाजकल्याण परिषद्को स्वामित्वमा रहेको जग्गा भाडा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहितका व्यक्तिहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।

    विशेष अदालतले १६ फागुन २०७९ मै गुरुङलाई दोषी ठहर गरेको थियो । जसअनुसार अदालतले गुरुङलाई एक करोड २१ लाख ८४ हजार ४ सय १ रुपैयाँ जरिवाना हुने निर्णय सुनाएको थियो ।

    सजायअनुसार कारबाही नभएको भनेर अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन लिएर गएको छ । यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

    मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै बेला २०७९ मा पनि गुरुङ उम्मेदवार भए, चुनाव जिते, तर संसद् छिर्न पाएनन् ।

    पछि सर्वोच्च अदालतबाट आदेश भएपछि संसदीय गतिविधिमा भाग लिएका थिए ।

    अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ । यसकारण अब फेरि उम्मेदवार रहेका गुरुङले चुनाव जितेको खण्डमा सांसद्को हैसियतका काम गर्न पाउँछन् कि पाउँदैनन् भनेर सर्वोच्च अदालतले नै भनिदिनुपर्ने हुन्छ ।

    सर्वोच्च अदालतले विशेष अदालतले भ्रष्टाचार मुद्दामा गरेको दोषी ठहरको निर्णय उल्ट्याएको अवस्थामा भने उनले सांसदको रूपमा काम गर्न सहजै पाउनेछन् ।

    निर्वाचनसम्बन्धी ऐनले फौजदारी मुद्दा लागेका, भ्रष्टाचारको मुद्दा लागेका ब्यक्तिलाई उम्मेदवार बन्ने छुट दिएको छ । तर यस्ता अभियोग लागेका व्यक्तिले सांसदको हैसियतमा काम गर्न नपाउने प्रावधान छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images