काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले आफ्नो अन्तिम खेलमा स्टल्यान्डलाई पराजित गरेको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले स्कटल्यान्डलाई ७ विकेटले हराएको हो।
यसअघि समूह ‘सी’ मा इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजित भएर बाहिरिएको नेपालले चौथो खेलमा जित निकाल्दा २३ बलमा अविजित ५० रन बनाएका दीपेन्द्र सिंह ऐरी ‘प्लेयर अफ द म्याच’ चुनिए।
उनले खेलपछिको प्रिजेन्टेसनमा भने, ‘सबै समर्थकहरूलाई धेरै धन्यवाद। गत संस्करणको विश्वकपमा हामीले एउटा पनि खेल जित्न सकेका थिएनौँ, त्यसैले यो जित हाम्रा लागि धेरै महत्त्वपूर्ण छ। यो मेरो उत्कृष्ट इनिङ्स मध्येको एक हो। इङ्गल्याण्ड विरुद्धको खेल हाम्रा लागि एउटा सिकाई थियो, यो नतिजाले हामीलाई राम्रो भएको छ।’
यस्तै कप्तान रोहितले पनि आजको खेल आफ्नो लागि अर्थपूर्ण भएको बताए।
उनले भने, ‘यो जित मेरो लागि धेरै अर्थपूर्ण छ। कप्तानको रूपमा यो मेरो दोस्रो विश्वकप हो र लिग चरणको अन्तिम खेलमा आएर पहिलो जित निकाल्नु टोलीका लागि निकै महत्त्वपूर्ण थियो। दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै जितको आधार तयार पारे। इङ्गल्याण्ड विरुद्धको खेलपछि पनि समर्थकहरूले टिकट बुक गरेर अन्तिम खेलसम्म हामीलाई जुन साथ दिनुभयो, त्यो प्रशंसनीय छ।’
उनले अघि थपे, ‘विपक्षीलाई १७० रनमा रोक्न हाम्रो ‘डेथ ओभरुको बलिङ निकै राम्रो रह्यो। हामीले विकेट लिनुभन्दा डट बल फाल्ने कुरामा बढी ध्यान दियौँ। हामीले जसरी खेल्न चाहेका थियौँ, ठ्याक्कै त्यस्तो त हुन सकेन तर दीपेन्द्र र गुल्सनले खेल जिताएरै छोडे। दीपेन्द्र ‘प्लेयर अफ द म्याच’को वास्तविक हकदार हुन्, उनीसँग अद्भुत प्रतिभा छ। हाम्रा बलर र ब्याटर दुवैले धैर्यता कायम राखे। हामीले इङ्गल्याण्ड विरुद्धको खेलबाट धेरै कुरा सिक्यौँ।
उनले टी-२० विश्वकप २०२६ बारे अघि भने, ‘यस प्रतियोगितालाई संक्षेपमा भन्नुपर्दा हामीले इङ्गल्याण्ड र स्कटल्याण्ड विरुद्ध जस्तो खेल प्रदर्शन गरेका थियौँ, त्यस्तै खेल्न चाहन्थ्यौँ। इटाली विरुद्धको खेल हामीले चाहे जस्तो भएन। हामी यहाँबाट अझै सुधार गर्दै अगाडि बढ्ने प्रयास गर्नेछौँ।’


विश्व खबर 



















