काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२६ मा समूह ‘सी’ को अन्तिम खेलमा स्कटल्यान्डले नेपालललाई एक सय ७१ रनको लक्ष्य दिएको छ ।
मंगलबार वानखेडे रंगशालामा टस हारेर ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ७० रन बनाएको हो ।
एक समय २ सय रनको कूल स्कोरतर्फ बढीरहेको स्कटल्यान्डलाई सोमपालले १६औं ओभरमा लगातार दुई विकेट लिँदै रोकेका थिए । यो विश्वकपमा दोस्रो खेल खेलिरहेका सोमपालले एकै खेलमा सर्वाधिक तीन विकेट लिए । नन्दन यादवले दुई विकेट झारे ।
स्कटल्यान्डको लागि माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए । सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ४५ बलमा ८ चौका र ३ छक्का हिर्काएका हुन् । यसअघि २८ वर्षीय खेलाडीले ३१ बलमा अर्धसतक बनाएका थिए ।
पहिलो विकेटको लागि जर्ज मुन्से र माइकल जोन्सबीच ८० रनको साझेदारी भएको थियो । मुन्सेले २९ बलमा चार चौकासहित २७ रन बनाए । पार्टटाइम बलर रोहितले दशौं ओभरको अन्तिम बलमा विकेटको खाता खोलेका थिए ।
जर्ज मुन्सेलाई रोहितले लङ अफमा पहिलो पटक अवसर पाएका सन्दीप जोराबाट क्याच गराएका थिए । रिभर्स स्विप हान्ने चक्करमा मुन्से फसेका थिए । नियमित बलरबाट विकेट नझरेपछि यो विश्वकपमा रोहितले पहिलो पटक बलिङ गरेका हुन् ।
म्याकमुलेन र जोन्सबीच दोस्रो विकेटको लागि ३२ बलमा ५२ रनको साझेदारी भएको थियो । २५ रन बनाएका म्याकमुलेनलाई सोमपालले तेस्रो विकेटको रुपमा कट एण्ड बोल्ड गरे । यो विश्वकपमा दोस्रो पटक अवसर पाएका सोमपालले दोस्रो खेलमा दुई विकेट लिएका छन् । सोमपालले १६औं ओभरमा लगातार दुई विकेट लिएपछि स्कटल्यान्डको रन बनाउने रफतारमा ब्रेक लागेको थियो ।
कुशल भुर्तेलले चौथो विकेटको रुपमा स्कटल्यान्डका कप्तान रिची वेरिंघटनको विकेट लिए । ६ बलमा १० रन जोडेका रिचीलाई जोराले क्याच गरेका हुन् । पहिलो पटक अवसर पाएका जोराले दोस्रो क्याच लिन सफल भए ।
१७.३ ओभरमा नन्दनले पाँँचौं विकेटको रुपमा ४ रन बनाएका म्याथ्यु क्रसलाई योर्करबलमा बोल्ड गरे । पहिलो पटक विश्वकप खेलिरहेका नन्दनले योसँगै चार विकेट लिएका छन् । उनले इंग्ल्यान्डसँग दुई तथा वेष्ट इन्डिजसँग एक विकेट लिएका थिए ।
१८.४ ओभरमा सोमपालले ५ रन बनाएका पूर्व न्युजिल्यान्डका खेलाडी टम ब्रुसलाई आउट गरे । उनी सोमपालको स्लो बलमा योर्करको सिकार भए । सोमपालको यो तेस्रो विकेट हो । सातौं विकेटको रुपमा नन्दनले माइकल लेस्कलाई ४ रन बनाउँदा विकेटकिपर आसिफ शेखबाट क्याच गराएका थिए । नन्दनको यो विश्वकपकै पाँच विकेट हो ।
मार्क वाटले अविजित १० रन बनाए ।
सोमपालले तीन तथा नन्दनले दुई विकेट लिँदा रोहित पौडेल र कुशल भुर्तेलले समान एक विकेट लिए । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भने विकेटबिहिन भए ।
यसअघि नेपालले सुरुको ओभर नै अफ स्पिनर दीपेन्द्रसिंह ऐरीलाई बलिङ गर्न दिएको थियो । तर, विकेट लिन १० ओभर नै कुर्नप¥यो । १५।१ ओभरमा नन्दन यादवको बलमा ब्रान्डन म्याकमुलेनले जीवनदान पाए । सन्दीप जोराले हातमै परेको बललाई छाड्दा म्याकमुलेनले अर्को अवसर पाए भने नेपाल दोस्रो विकेट लिनबाट चुकेको थियो ।
आफ्नो अन्तिम खेलमा नेपालले टस जितेको हो । यसअघि सबै खेलमा टस सहित खेल नै हारेको थियो । प्रशिक्षक स्टुआर्ट लले सन्दीप जोरालाई पहिलो पटक अवसर दिएका छन् । उनको विश्वकपमा पनि डेब्यु भएको छ । सन्दीपले करण केसीको स्थान लिएका हुन् । अन्य खेलाडी भने यसअघि वेष्ट इन्डिजविरुद्ध खेलेका नै छन् ।
नेपाल र स्कटल्यान्ड यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन् । स्कटल्यान्डले एक जित निकाल्दा नेपाल भने जितविहित छ ।
नेपाल अन्तिम खेलमा जित निकाल्दै यसको खडेरी तोड्न चाहन्छ । सन् २०१४ पछि नेपाली टिमले विश्वकपमा जित निकालेको छैन । सन् २०२४ मा पनि नेपाली टिम जितबिहिन भएको थियो ।
यसपटक नेपाल समूहको पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले, दोस्रो खेलमा इटालीसँग १० विकेट तथा पछिल्लो खेलमा वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । समूह ‘सी’बाट यसअघि नै दुई पटकको च्याम्पियन वेष्ट इन्डिज र इंग्ल्यान्ड सुपर एटमा प्रवेश गरिसकेका छन् ।


विश्व खबर 



















