images
images
  • नेपाललाई जारी टी–२० विश्वकपमा प्रतिष्ठा जोगाउन अन्तिम अवसर, स्कटल्यान्डसँगको खेलमा को–कति बलियो ?

    काठमाडौं– नेपालले मङ्गलवार साँझ स्कटल्यान्डविरुद्ध समूह चरणको अन्तिम खेल खेल्दै जारी टी–२० विश्वकप २०२६ को यात्रा टुङ्ग्याउने तयारी गरेको छ ।

    यसअघिका तीनवटै खेलमा पराजित भइसकेकाले नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

    इङ्ग्ल्यान्डसँगको पहिलो खेलमा रोमाञ्चक प्रदर्शन गर्दै जित हात पार्न नसके पनि मन जितेको चर्चा कमायो ।

    त्यसपछि इटली र वेस्ट इन्डिजसँगको हारले टोलीको यात्रा कठिन बनायो ।

    अब स्कटल्यान्डविरुद्धको खेल नेपालका लागि प्रतिष्ठा जोगाउने अवसरका रूपमा हेरिएको छ ।

    अर्को चरण पुग्ने सम्भावना समाप्त भइसकेकाले यो खेल नेपालका लागि दबावविहीन हुनेछ ।

    खेलाडीहरूले खुलेर खेल्न पाउने अपेक्षा गरिएको छ ।

    टी–२० विश्वकपमा सहभागी भएको १२ वर्षमा अहिलेसम्म एक खेल पनि जित्न नसकेको अवस्थालाई हेर्दा स्कटल्यान्डमाथि जित हासिल गर्न सके त्यो ऐतिहासिक उपलब्धि बन्नेछ ।

    ‘गल्ती दोहोर्‍याउनु हुँदैन’

    खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कन्सल्टेन्ट प्रशिक्षक निक पोथसले विगतका कमजोरी दोहोर्‍याउन नहुने बताए ।

    उनका अनुसार स्कटल्यान्डविरुद्ध प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न टोलीले एउटै गल्ती बारम्बार दोहोर्‍याउन हुँदैन ।

    इङ्ग्ल्यान्डसँगको प्रतिस्पर्धात्मक हारपछि नेपाली टोलीको विश्वभर प्रशंसा भए पनि इटलीसँग १० विकेटको हार र वेस्ट इन्डिजसँगको कमजोर प्रदर्शनपछि आलोचना बढेको थियो ।

    टोलीका अस्ट्रेलियाली मुख्य प्रशिक्षक स्टुअर्ट लले पनि खेलमा केन्द्रित रहन र सामाजिक सञ्जालको प्रभावबाट टाढा बस्न खेलाडीलाई सुझाव दिएका थिए ।

    प्रतिस्पर्धाको अवस्था

    समूह ‘सी’ को अङ्कतालिकामा नेपाल बिनाअङ्क पुछारमा छ भने स्कटल्यान्ड दुई अङ्कसहित चौथो स्थानमा रहेको छ ।

    स्कटल्यान्डले इटलीलाई हराएको थियो ।

    दुवै टोली एक खेल बाँकी रहँदै समूह चरणबाट बाहिरिइसके पनि अन्तिम खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

    टी–२० इतिहास हेर्दा नेपाल र स्कटल्यान्डबीच तीन पटक भेट हुँदा स्कटल्यान्डले दुई र नेपालले एक जित निकालेको छ ।

    गत जुनमा स्कटल्यान्डमा भएको त्रिकोणात्मक शृङ्खलामा दुवैले १–१ खेल जितेका थिए ।

    त्यसअघि सन् २०१३ मा भएको विश्वकप छनोट खेलमा स्कटल्यान्ड विजयी भएको थियो ।

    नेपाली समर्थकको प्रभाव

    स्कटल्यान्डका खेलाडी टम ब्रूसले नेपालसँग खेल्दा ठूलो सङ्ख्यामा उपस्थित हुने नेपाली समर्थकहरूको चर्चा गर्दै त्यस्तो वातावरणमा खेल्न रमाइलो लाग्ने बताए ।

    उनले दर्शकको उपस्थितिले आफ्नो टोली दबावमा नपर्ने पनि स्पष्ट पारे ।

    ब्रूस पहिलो पटक नेपालविरुद्ध खेल्न लागेका हुन् ।

    उनी यसअघि न्युजिल्यान्डबाट क्रिकेट खेलेका ओपनर हुन् र आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

    मनोबल उकास्ने अवसर

    नेपाल यसअघि पनि विश्वकप खेलिसकेको भए पनि अहिलेसम्म जित हात पार्न सकेको छैन ।

    त्यसैले स्कटल्यान्डविरुद्धको खेल निराश समर्थकलाई खुसी दिने मात्र होइन, आगामी शृङ्खलाका लागि खेलाडीको मनोबल बढाउने अवसरका रूपमा पनि हेरिएको छ ।

    नेपाल फर्किएलगत्तै अर्को महिनादेखि विश्वकप लिग–२ अन्तर्गत ओमान र यूएईविरुद्ध घरेलु मैदानमा खेल हुने तालिका छ ।

    लिग–२ मा पनि नेपालको अवस्था सन्तोषजनक छैन ।

    आठ टोलीमध्ये नेपाल सातौँ स्थानमा संघर्षरत छ ।

    यस्तो अवस्थामा स्कटल्यान्डविरुद्धको सम्भावित जितले टोलीको आत्मविश्वास मात्र होइन, कीर्तिपुर रङ्गशालामा उपस्थित हुने घरेलु समर्थकको उत्साह पनि बढाउने अपेक्षा गरिएको छ ।

    कप्तान रोहित पौडेलका लागि पनि अन्तिम खेल दुई अङ्क जोड्ने महत्वपूर्ण अवसर बन्नेछ । –बीबीसी नेपाली

    प्रतिक्रिया दिनुहोस्
    images
    images