काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले वर्तमान राजनीतिक अवस्था जटिल र संवेदनशील रहेको उल्लेख गर्दै तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिएको छ ।
पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा जारी वक्तव्यमा नवयुवापुस्ताको आन्दोलनपछिको अवस्थालाई सामान्य बनाउन पार्टीले निरन्तर जिम्मेवार प्रयास गरिरहेको दाबी गरिएको छ ।
पार्टीले निर्वाचन घोषणा भएपछि केही दलहरूले निर्वाचन नै नचाहेको अवस्थामा समेत आफूहरूले समयमै निर्वाचन हुनुपर्ने अडान लिएको र अहिले त्यो निर्णय वस्तुगत परिस्थितिको सही विश्लेषण सावित भएको उल्लेख गरेको छ ।
वक्तव्यमा पार्टीप्रति जनविश्वास बढिरहेको दाबी गर्दै विगतका कमी–कमजोरी स्वीकार गरी सुधारको प्रतिबद्धतासहित जनतामाझ उभिएको जनाइएको छ ।
पार्टीले देश दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको पनि जनाएको छ ।
एकातिर दलाल र बिचौलियाको आडमा कुशासन चलाउने र युवाहरूको आन्दोलन दमन गर्ने प्रवृत्ति, अर्कोतर्फ जनभावनालाई स्वार्थका लागि प्रयोग गर्दै राष्ट्रिय संस्थामाथि आक्रमण गर्ने प्रवृत्ति दुवै लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र राजनीतिक स्थिरताका लागि हानिकारक रहेको उल्लेख गरिएको छ ।
निहत्था नागरिक तथा सुरक्षाकर्मीमाथि हिंसा गर्ने दुवै प्रकारका अतिवादको पार्टीले विरोध जनाएको छ ।
निर्वाचन आचारसंहिता उल्लंघनका गतिविधिप्रति पनि पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केही सञ्चारमाध्यमले भ्रामक सूचना फैलाएर पार्टीको अवमूल्यन गर्ने प्रयास गरेको आरोप लगाउँदै पत्रकारिताको मूल्यमान्यता र नैतिकता पालना गर्न आग्रह गरिएको छ ।
साथै प्रेस नियामक निकायलाई आचारसंहिताको निष्पक्ष अनुगमन गर्न अपिल गरिएको छ ।
वक्तव्यमा निर्वाचन विथोल्न चाहने शक्तिहरू अझै सक्रिय रहेको भन्दै स्वच्छ र निष्पक्ष वातावरण सुनिश्चित गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।
आयोगमाथि उठेका प्रश्नहरूलाई सम्बोधन गर्दै कडा निगरानी र स्पष्ट निर्णयमार्फत जनविश्वास कायम राख्नुपर्ने पार्टीको भनाइ छ ।
पार्टीले आफ्नो प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरिसकेको उल्लेख गर्दै मतदातालाई सबै दलहरूको विगत, वर्तमान भूमिका, विचारधारा र आगामी योजना मूल्यांकन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गरेको छ ।
अन्त्यमा, वर्तमान संकटबाट देशलाई बाहिर निकाल्न तथा स्वच्छ र भयमुक्त निर्वाचन सुनिश्चित गर्न सरकार, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई उच्च जिम्मेवारीका साथ काम गर्न आह्वान गरिएको छ ।

























