images
images
  • बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको मन्त्रिपरिषद् सदस्यहरूको शपथग्रहण ४ बजे

    काठमाडौं– १६ महिनासम्म चलेको विद्यार्थी आन्दोलनपछि आज बंगलादेशमा जननिर्वाचित सरकार गठन हुने भएको छ ।

    बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का अध्यक्ष तारिक रहमान आज नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त हुने कार्यक्रम तय भएको छ ।

    बीबीसीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यहरूको शपथ ग्रहण अपराह्न ४ बजे हुनेछ ।

    नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले १६ महिनापछि सत्ता निर्वाचित सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।

    अन्तरिम सरकारका मुख्य सल्लाहकार युनुसले सोमबार राति बिदाइ सम्बोधनमार्फत पदत्यागको घोषणा गरेका थिए ।

    गत १२ फेब्रुअरीमा सम्पन्न आम निर्वाचनमा बीएनपी नेतृत्वको गठबन्धनले २१२ सिट जित्दै दुईतिहाइ बहुमत सुरक्षित गरेको थियो ।

    त्यस्तै जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट प्राप्त गरेको छ ।

    नयाँ सरकार गठनसँगै संसद् सदस्यहरूको शपथ कार्यक्रम पनि तय गरिएको छ ।

    मुख्य निर्वाचन आयुक्तले आज बिहान १० बजे संसद् भवनको ‘साउथ प्लाजा’मा नवनिर्वाचित सांसदहरूलाई शपथ गराउने तालिका सार्वजनिक गरिएको छ ।

    रहमानले पहिलो पटक संसदीय निर्वाचनमा बीएनपीको नेतृत्व गरेका हुन् भने उनी स्वयं पनि पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।

    करिब १७ वर्ष बेलायतको लन्डनमा राजनीतिक शरण लिएर बसेपछि उनी स्वदेश फर्किएका थिए ।

    बीएनपीको स्थापना पूर्वराष्ट्रपति जियाउर रहमानले गरेका थिए भने पार्टी सञ्चालनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको महत्वपूर्ण भूमिका रहँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images