काठमाडौं– पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ ।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेश हुने भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते मुद्दा दायर गर्दै नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय माग गरेको छ ।
तत्कालीन प्रधानमन्त्रीको हैसियतमा पदको दुरुपयोग गरी सरकारी सार्वजनिक जग्गा व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको आरोप लगाइएको छ ।
तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ मा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति दिएको तथा माघ १८ मा ठाडो आदेशमार्फत बिक्री–सट्टापट्टा गर्न दिएको अभियोगपत्रमा उल्लेख छ ।
३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भएको दाबी गरिएको छ ।























