काठमाडौं– नेपालका चार क्रिकेटरले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय वरीयतामा उल्लेखनीय सुधार गरेका छन् ।
बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता सूचीअनुसार नेपाली टोलीका कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, ओपनर कुशल भुर्तेल र लेग स्पिनर सन्दीप लामिछानेको स्थान उक्लिएको हो ।
आईसीसीका अनुसार अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ब्याटिङ र बलिङ दुवैतर्फ प्रगति गरेका छन् ।
उनले ब्याटिङतर्फ चार स्थान सुधार गर्दै ७२ औँ स्थानमा पुगेका छन् भने बलिङतर्फ पाँच स्थान उक्लिँदै ७१ औँ स्थान ओगट्न सफल भएका छन् ।
यद्यपि, अलराउन्डर वरीयतामा भने उनी छैटौँ स्थानमै यथावत् छन् ।
कप्तान रोहित पौडेलले ब्याटिङ वरीयतामा तीन स्थान सुधार गर्दै ७५औँ स्थान हासिल गरेका छन् ।
त्यस्तै, ओपनर कुशल भुर्तेल चार स्थान उक्लिँदै ७७ औँ स्थानमा पुगेका छन् ।
बलिङतर्फ लगातार प्रभावशाली प्रदर्शन गरिरहेका सन्दीप लामिछानेले सबैभन्दा ठूलो छलाङ मार्दै १० स्थान सुधार गरेका छन् ।
उनी अहिले ७४ औँ स्थानमा पुगेका छन् ।
यसैबीच, विश्वकपमा सहभागी नेपालले आज आफ्नो दोस्रो खेल इटालीविरुद्ध खेल्दैछ ।
पहिलो खेलमा इंग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल आज प्रतियोगितामा पहिलो ऐतिहासिक जितको खोजीमा मैदान उत्रनेछ ।


विश्व खबर 



















