काठमाडौं– सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमध्ये ६ खर्ब ९० अर्ब खर्च गरेको छ ।
अर्थ मन्त्रालयले माघ २७ मा अर्धवार्षिक समीक्षा गर्दै खर्च र स्रोत परिचालनबारे जानकारी दिएको हो ।
विनियोजित रकममध्ये चालु खर्च ४१.२५%, पुँजीगत खर्च १२.१२% र वित्तीय व्यवस्थामा ४०.१५% खर्च भएको छ ।
पुँजीगत खर्च कम हुनुको कारण योजनाको पूर्वतयारीको अभाव, जग्गा समस्या, बन क्षेत्रको जटिलता र भदौ २३–२४ को आन्दोलन भएको मन्त्रालयले जनाएको छ ।
पूर्वतयारी नभएका र अनुत्पादक साना आयोजना हेतु १ खर्ब १९ अर्ब ५३ करोड बजेट स्थगन गरिएको छ, जसबाट ४२ अर्ब फुकुवा गरिएको छ ।
राजस्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य १४ खर्ब ८० अर्ब रहेकोमा पुस मसान्तसम्म ५ खर्ब ५ अर्ब संकलन भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा २.४७% बढी हो ।
आन्तरिक ऋण परिचालनमा ४९.०८% र सार्वजनिक ऋण भुक्तानीमा ४५.५३% भुक्तानी भइसकेको छ ।
वैदेशिक विकास सहायता ६५ अर्ब ३९ करोड प्राप्त भएकोमा २९.४४% अनुदान र ७०.५६% ऋण रहेको छ ।
अर्थमन्त्री रामेश्वर खनालले प्राथमिकता पुनः निर्धारण गर्दै अनुत्पादक खर्च कटौती र बैठक भत्ता रोक्ने नीति अपनाएको बताए ।


विश्व खबर 



















