काठमाडौं– झन्डै एक खर्ब रुपैयाँ बराबरको विकास बजेट रोक्का गरिएपछि त्यसको असर देखिन थालेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को छ महिना बितिसक्दा विकास खर्च अत्यन्त न्यून देखिएको छ ।
सरकारले असोज ४ गते मितव्ययिता अपनाउने भन्दै करिब सवा एक खर्ब रुपैयाँ विकास बजेट रोक्का गर्ने निर्णय गरेको थियो, जसका कारण धेरै आयोजना प्रभावित भएका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागका अनुसार रोक्का गरिएको बजेट बाहेक उपलब्ध रकममध्ये पनि छ महिनामा मात्र करिब १४ प्रतिशत खर्च भएको छ ।
विभागलाई विनियोजन गरिएको ५७ अर्बमध्ये २६ अर्ब रोक्का हुँदा खर्च गर्ने क्षमता घटेको हो ।
केही स्कुल र स्वास्थ्य चौकी भवन निर्माणका बजेट मात्र फुकुवा भए पनि अधिकांश योजना अझै रोक्कामै छन् ।
भौतिक पूर्वाधार, सहरी विकास, खानेपानी, ऊर्जा र सिँचाइ जस्ता मन्त्रालयका कार्यक्रमहरू विशेष रूपमा प्रभावित भएका छन् ।
विज्ञहरूका अनुसार विकास बजेट रोक्का हुँदा आर्थिक गतिविधि सुस्त हुने, बेरोजगारी बढ्ने र जनतामा निराशा फैलिने खतरा बढेको छ ।
त्यसैले रोक्का गरिएको बजेट छिटो फुकुवा गर्नुपर्ने सुझाव दिइएको छ ।


विश्व खबर 



















