काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बस्दै आएको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार चोरीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरूबाट चोरीका केही सामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल सिलगढी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।
उनीहरूले चप्पल कारखानास्थित सितादेवी गुरुङको घरमा रहेको बालेन शाह बस्ने डेरा कोठामा चोरी गरेको खुलेको छ ।
मुख्य योजनाकारका रूपमा चिनिएका राजवाहकलाई प्रहरीले २३ माघमा बाँसबारीबाट पक्राउ गरेको हो ।
उनी यसअघि पनि चोरी तथा अन्य सामान्य आपराधिक मुद्दामा संलग्न रहेको र जेल सजाय भुक्तान गरिसकेको व्यक्ति भएको प्रहरीले जनाएको छ ।
नख्खु कारागारबाट फरार भएपछि उनी थप पाँच वटा चोरी घटनामा संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा रास्वपा सभापति रवि लामिछानेसँगै उनीहरू नख्खु जेलत्र्रेक गरेका थिए ।
उनको साथबाट राउटर, सीसी क्यामेरा, औजार तथा अन्य सामग्री बरामद गरिएको छ ।
खिमबहादुर खड्कालाई २४ माघमा जडिबुटीबाट पक्राउ गरिएको हो ।
उनी बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त समेत रहेको खुलेको छ ।
राजवाहकले चोरी गरेका सामान बिक्री गर्ने जिम्मेवारी खड्काले लिने गरेको प्रहरीको भनाइ छ ।
उनको भक्तपुरस्थित घरबाट चाँदीका भाँडा, गहना र विभिन्न धातुका सामग्री बरामद गरिएको छ ।
त्यस्तै सञ्जय श्रेष्ठलाई पनि २४ माघमै बालाजुबाट पक्राउ गरिएको हो ।
उनी विगतमा जबरजस्ती करणी मुद्दामा पनि मुछिएको व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
श्रेष्ठ र राजवाहकबीच कारागारमै चिनजान भएको देखिएको छ ।
श्रेष्ठको कोठाबाट ल्यापटप, चार्जर, डीभीआर लगायतका विद्युतीय सामग्री बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।























